धनगढी: सुदूर पश्चिममा कोरोना संक्रमितको लागि आवश्यक अक्सिजनको अभाव भएको छ। कोरोना संक्रमितले सुदूरपश्चिमका सरकारी र नीजि अस्पतालहरु भरिभराउ छन्।
अक्सिजनको सर्पोट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सिमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको हो। अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेको र संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भईरहेको अवस्था छ।
‘अक्सिजनको अभाव छ। बिहीवार राती हावाहुरीपछि बन्द भएको धनगढीस्थित मालिका अक्सिजन उद्योग बिहान सञ्चालन आएपनि यहाँको मागलाई धान्न सक्ने अवस्थामा छैन।
‘अक्सिजन खोजिदिनुपर्यो’ भनेर फोन आउने गरेका छन्,’ जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक रहेका समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘अक्सिजनको अभाव हटाएर संक्रमितलाई अक्सिजन सहज बनाउन हामी लागिरहेका छौं।’ सेती प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्ट चौबिस घण्टामा जम्मा ७ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको छ।
विद्युत अनियमित हुँदा हाल ५५ देखि ६० सिलिण्डर मात्र उत्पादन भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। सेती प्रादेशिक अस्पतालमा अहिले दिनहुँ डेढ सय जति अक्सिजन सिलिण्डर आवश्यक रहेको छ।
यसैगरी, महाकाली प्रादेशिक अस्पतालमा १२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने मात्र रहेको अस्पातलका मेडिकल सुपरिटेन्डेन्ट हरि श्रेष्ठले बताए। ‘हामीलाई अस्पतालमा कम्तीमा प्रत्येक दिन ४० देखि ५० सिलिण्डर अक्सिजन चाहिन्छ,’ उनले भने।
नेपालगन्जबाट पनि आवश्यकता अनुसार अक्सिजन सिलिण्डर नआएकाले समस्या भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए। ‘अक्सिजनको धेरै समस्या भएको छ,’ उनले भने, ‘अक्सिजन नपाएर बिरामी छटपटाइरहेका छन्।’
बाँकेमा रहेको उद्योगले पनि अहिले कम अक्सिजन सिलिण्डर आपूर्ति गर्ने र सुदूरपश्चिममा उत्पादन नै कम भएकाले अक्सिजनको ठूलो समस्या भएको उनले बताए। डेढ सय अक्सिजन सिलिण्डर खपत हुने ठाउँमा ३ सय सिलिण्डर आवश्यक पर्छ। सेती प्रादेशिक अस्पतालमा जम्मा १ सय १० पुराना र अहिले नयाँ ३५ किनेको सूचना अधिकारी श्रेष्ठ बताए।
सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले कोरोना संक्रमणको अहिलेको अवस्था असमान्य रहेकोले क्षमता अभाव भएको बताए। ‘अहिलेको असमान्य अवस्था हो, हामी क्षमता विस्तार गर्नमा लागिरहेका छौं,’ उनले भने। अक्सिजन सिलिण्डरको अभाव रहेकाले सिलिण्डर खरिद गर्ने प्रक्रिया थालिएको उनको दावी छ।
नेपालगञ्जमा रहेको अक्सिजन उद्योगले स्थानीय प्रशासनको दवावमा सुदूरपश्चिममा आउने अक्सिजनमा भारी कटौती गरेको छ। सुदूरपश्चिमबाट अक्सिजन लिन गएका गाडीहरु बिहीवारराती देखि नेपालगञ्जमा थन्किएका छन्। सुदूरपश्चिमको सबैभन्दा ठूलो अस्पताल सेती प्रादेशिक अस्पतालमा अक्सिजन सकिएको मेसु डा। हेमराज पाण्डेयले बताए।
‘तत्काल अक्सिजन आपूर्ति हुन सक्ने भने स्थिति नभए भयावह हुन सक्छ। आज धनगढीका कुनै पनि अस्पतालमा अक्सिजन पर्याप्त छैन’ उनले भने। यसैगरी सेती प्रादेशिक अस्पतालका कोराना उपचार विभाग प्रमुख डा। शेरबहादुर कमरले निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने, अक्सिजन कम हुनेलगायतका लक्षण भएका अस्पतालमै राखेर उपचार गराउनुपर्ने जटिल संक्रमितहरूको संख्या बढी भएकाले संक्रमितको उपचारका लागी अक्सिजन अनिवार्य हुनुपर्ने बताए।
कोरोना संक्रमितहरु अक्सिजन नपाएर ज्यान गुमारहेको भन्दै सेती प्रादेशिक अस्पतालले सिलिण्डर खाली भएपनि बुझाउन सार्वजनिक अपिल गरेको छ। विभिन्न संघ सस्थाहरुले सहयोगमा अक्सिजन सिलिण्डरमा जुटेका छन्।
