धनगढी: कैलालीमा आज चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको संक्रमण पुष्टि भएको १२ घण्टामै आज बिहान मृत्यु भएको थियो ।
यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । आज नै कैलालीका गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।