धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीलाको निर्देशनपछि सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालिएको छ । संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनअनुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मास्क नलगाउनेहरुलाई आवश्यक परे जरिवाना गर्न थालिएको जनाएको छ । जिल्लान प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले सुरुमा सम्झाइबुझाई गर्न थालिएको र आवश्यक परे जरिवाना पनि गरिने बताए । विना मास्क बजारमा भेटिएकाहरूलाई समातेर एकपटकका लागि सम्झाइबुझाई मास्क नलगाई घरबाहिर ननिस्कने सर्तमा छोड्ने र अटेरी गरे कारबाही गर्ने प्रहरीले जनाएको छ ।
बुधवार बिहानैदेखि प्रहरीले धनगढीका मुख्य चोकमा मास्कविना हिँडेकाहरूलाई कारबाही प्रकृया सुरु गरिसकेको छ । अहिले कैलाली जिल्लाको सिमानाका सँग जोडिएको गौरीफन्टा नाकाबाट हजारौँको संख्यामा नेपालीहरू स्वदेश भित्रिरहेका छन् । कैलाली प्रशासनले नाकामा चैत ३ गतेदेखि एन्टिजेन परीक्षण सुरु गरेकोमा हालसम्म ११ हजार ३ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा मंगलबार सम्म ८ सय ४६ जनामा कोरोना संक्रमण देखिएकाछ ।
