टेकसिँह धामी/ धनगढी: भारतमा कोरोना भाइरसको दोस्रो लहरले भयावह रुपलिएसँगै त्यहाँ रहेका नेपाली फेरि संकटमा परेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरहरुमा कार्यरत नेपाली फेरि संकटमा परेका हुन् ।
महामारी तीव्र फैलिएको महाराष्ट्रमा रहेका नेपाली सबैभन्दा बढी समस्यामा परेका छन् । संक्रमणका कारण महाराष्ट्रमा लकडाउन समेत गरिएको छ । महामारीका कारण उद्योगधन्दा बन्द भएर रोजगारी गुमाएका नेपाली पारिश्रमिक समेत नपाएर सीमामा रित्तो हात घर फर्किरहेका छन् ।
रोजगारी गुमाउनुको पीडा, कोरोना संक्रमणको जोखिमसँगै सीमामा पुग्नैपनि अनेकन दुखकष्ट भोग्नुपरेको फर्किने नागरिकहरुको दुखेसो छ । सीमानाकामा जोखिम बढेको छ । तर, नाकामा व्यवस्थापन फितलदो हुँदा उनीहरुलाई थप सकस छ ।
कोरोना कहरकै कारण अघिल्लो वर्ष काम छोडेर घर आएका कैलाली गौरीगंगाका निशान विश्वकर्मा संक्रमण कम भएको सुनेपछि परिवारसहित रोजगारीका लागि दुई महिनाअघि पुनः मुम्बइ गए । होटेलमा काम गरिरहेका बेला एकाएक संक्रमण बढेर लकडाउन भएपछि बिचल्लीमा परे । यस बिचमा काम गरेको पारिश्रमिक समेत नपाएर साथीसँग ऋण लिएर रातारात घर हिडको उनले बताए ।
निशान जस्तै रोजगारीका लागि भारतको मुम्बइ, व्याङ्गलोर, पन्जाब लगायतका शहर पुगेका नेपाली विचल्लीका बीच स्वदेश फर्किरहेका छन् । महाराष्ट्र लगायतका केही प्रदेशमा लकडाउन भइसकेको छ भने कतिपय राज्यमा अब हुने हल्लाले नेपाली फर्किन थालेका छन् । धनगढीको गौरीफन्टा त्रिनगरनाकाबाट करिब दैनिक एक हजार मानिस आइरहेका छन् ।

