टेकसिँह धामी/ धनगढी: भारतमा कोरोना भाइरसको दोस्रो लहरले भयावह रूप लिएसँगै विभिन्न पेशा व्यवसाय गर्दै त्यहाँ रहेका नेपाली फेरि संकटमा परेका छन्। महामारी तीव्र फैलिएको महाराष्ट्रमा रहेका नेपाली सबैभन्दा बढी समस्यामा परेका छन्। संक्रमणका कारण महाराष्ट्रमा लकडाउन समेत गरिएको छ। महामारीका कारण उद्योगधन्दा बन्द भएर रोजगारी गुमाएका नेपाली पारिश्रमिक समेत नपाई रित्तो हात घर फर्किरहेका छन्।
रोजगारी गुमाउनुको पीडा, कोरोना संक्रमणको जोखिमसँगै सीमामा पुग्न अनेक दुःखकष्ट भोग्नु परेको फर्किने नागरिकहरूको दुखेसो छ। नाकामा व्यवस्थापन फितलो हुँदा उनीहरुलाई थप सकस छ।
कोरोना कहरकै कारण अघिल्लो वर्ष भारतबाट काम छोडेर घर आएका कैलाली गौरीगंगाका निशान विश्वकर्मा संक्रमण कम भएको सुनेपछि परिवारसहित रोजगारीका लागि दुई महिनाअघि पुनः मुम्बई गएका थिए। होटेलमा काम गरिरहेका बेला एकाएक संक्रमण बढेर लकडाउन भएपछि उनको परिवार नै बिचल्लीमा पर्यो। काम गरेको पारिश्रमिक समेत नपाएपछि उनी साथीसँग ऋण लिएर रातारात घर हिँडे।
निशानजस्तै रोजगारीका लागि भारतको मुम्बई, बैंग्लोर, पञ्जाबलगायतका शहर पुगेका नेपाली बिचल्लीका बीच स्वदेश फर्किरहेका छन्। महाराष्ट्र लगायतका केही प्रदेशमा लकडाउन भइसकेको छ। अन्य केही राज्यमा लकडाउन हुने हल्लाले नेपालीहरू फर्किन थालेका हुन्। धनगढीको गौरीफन्टा त्रिनगरनाकाबाट दैनिक करिब एक हजार नेपाली स्वदेश फर्किरहेका छन्।
जोखिमपूर्ण क्षेत्रबाट सर्वसाधरण फर्किने क्रम बढे पनि नाकामा स्वास्थ्य जाँचका लागि पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति नहुँदा उचित व्यवस्थापन नभएको स्वास्थ्यकर्मीको गुनासो छ। नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भने, ‘हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था त गरिएको छ। तर पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति नहुँदा समस्या भएको छ।’
फर्किने धेरैजसो परीक्षणबिनै सार्वजनिक गाडी चढेर घर गइरहेको ठकुल्लाले बताए। कोरोनाको उच्च जोखिम ठाउँबाट हुलका हुल सर्वसाधरण नेपाल प्रवेश गरिरहेका छन्। कतिपय नाकाबाट नेपालीसँगै भारतीय नागरिकसमेत नेपाल भित्रिरहेका छन्।
एक महिनामा ३० हजार भित्रिए
गौरीफन्टा नाकाबाट पछिल्लो एक महिनामा ३० हजारभन्दा बढी नेपालीहरू भित्रिएको नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिए। चैत ३ देखि वैशाख ३ सम्म ८ हजार ८५६ जना मात्र एन्टिजेन परीक्षण गरिएको छ। तीमध्ये ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १७ जना बालबालिका रहेको छन्।