धनगढी: लामो समययता वर्षा नभएका कारण देशभर वायु प्रदूषणको मात्रा बढेको छ। आइतबार बिहानै धनगढीसहित देशभरको आकाश तुवाँलोले ढाकेको छ।
वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा रहेको थियो। वायुको गुणस्तर सूचकांक एयर क्वालिटी इन्डेक्स ९एक्यूआई०मा मापन गरिन्छ, जसअनुसार धनगढीको एक्यूआई ४२९ पुगेको थियो।
तर यो समाचार तयार पार्दासम्म धनगढीको एक्यूआई दोस्रो स्थानमा रही ३३५ मा झरेको छ। अहिले नेपालकै सबैभनदा प्रदूषित सहर हेटौडा बनेको छ, जहाँको एक्यूआई ४३७ पुगेको छ।
एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ। तर ५० देखि १०० सम्मलाई ठिकै मानिन्छ। त्यस्तै एक्यूआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ।
२०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्यूआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।
वन जंगलमा डढेलो, धनगढी लगायतका सहरमा बालिने प्लास्टिकको धुवाँ र धुलोलाई वायु गुणस्तर सूचकांक एक्यूआई बढ्नुको प्रमुख कारण मानिएको छ।
कैलालीको चुरेसहित सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका वनमा डढेलो लगाउने क्रम रोकिएको छेन। निभाउन कोही लागिपरेको छैन। समुदाय र सरकार आँखा चिम्लिएर बसिरहेको पाइएको छ।
हावा हुरी चल्ने र पानी पर्ने सम्भावना कम भएकाले वायु प्रदूषण अझै बढ्ने चिन्ता छ।
सुदूरपश्चिम अर्थात पश्चिम नेपालमा पानी पर्ने र हावा चल्ने सम्भावना समेत न्यून रहेकाले वायु प्रदूषण अझै बढ्ने अनुमान गरिएको छ। चिकित्सकहरुले हावामा मसिनो कणको संख्या झनै बढ्ने क्रममा रहेकाले सबै सजग रहनु पर्ने सुझाव दिएका छन्। वायु प्रदूषण बढाउने गतिविधि नगर्न र श्वास–प्रश्वास, छालाका रोगहरुबाट बच्न सेती प्रादेशिक अस्पतालका फिजिसिएन डाक्टर शेरबहादुर कमर सुझाव दिन्छन्।
विज्ञहरूले वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन्।
