धनगढी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २ लाख बढीलाई कोरोना भाइरसविरुद्ध खोप दिइएको छ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै गएको माघदेखि हालसम्म कुल २ लाख २ हजार ८ सय ८ जनालाई खोप दिइएको जनाएको छ।
उक्त अभियानमा प्रदेशमा रहेका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन्। कैलालीमा सबैभन्दा बढी ६३ हजार ३ सय ९७ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।
यस्तै कञ्चनपुरमा ३० हजार २ सय २३ , अछाममा २० हजार ५ सय ७४,दार्चुलामा १७ हजार १ सय ७९, बझाङमा १६ हजार ९ सय ७३, बैतडीमा १६ हजार १ सय ९५,डोटीमा १४ हजार ६ सय ९७, बाजुरामा १२ हजार ३ सय २६ र डडेल्धुरामा ११ हजार २ सय ४४ जनाले खोप लगाएका हुन्।
उक्त अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी,महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा जेष्ठ नागरिकलाई खोप दिइएको हो।
सुदूरपश्चिमसहित देशभरीनै गत माघ १४ गतेदेखिनै उक्त अभियान सुरु गरिएको थियो। प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप निर्देशक डा गुणराज अवस्थीले लगाएका थिए।