धनगढी : कैलाली जिल्लाभर चैत २० गतेबाट हात्तीपाइले आम औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहहरुमा चैत्र २० गतेदेखि ३० गते सम्म हात्तीपाइले विरुद्धको ९ औं चरणको आम औषधी खुवाईने अभियान सुरु हुने भएको हो ।
जिल्लामा ८ लाख ४१ हजार २ सय ०१ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए ।
उनले यो पटक कैलालीमा नवौं चरणको अभियान सञ्चालन गरिएको बताउदैं सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन अनुरोध गरेका छन । खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पर्ने बताईएको छ ।
दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने स्वास्थ्य कार्यालयका प्रमुख धामीले जानकारी दिए । जिल्लामा हात्तीपाइले रोगलाई निवारण गर्न राजनीतिक दल, व्यापारी, कर्मचारी, विद्यार्थी र सञ्चारकर्मी सबैले आ–आफ्नो पायक पर्ने स्थानमा गएर औषधी सेवन गरि सहयोग गर्न प्रमुख धामीले आग्रह गरे ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत विश्वबाट यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।