बैतडी : कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले बिहीबार आदेश जारी गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सतर्कता अपनाउनका लागि १० बुँदे आदेश जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा भिडभाड हुने कुनै पनि खालका गतिविधि नगर्न भनिएको छ।
नजिक आएको होली पर्व सामूहिक रुपमा नखेल्न,क्वारेन्टाइन र आइसोलेसन स्थल तयारी अवस्थामा राख्ने,स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने, सबै व्यक्तिहरुले अनिवार्य रुपमा सेनिटाइजर, मास्क र सामाजिक दूरीको पालना गर्नुपर्ने जारी आदेशमा उल्लेख गरिएको छ।
जिल्लास्थित सम्पूर्ण कार्यालय, संघसंस्था, शैक्षिक संस्थाहरु भौतिक दुरी कायम राखेर सञ्चालन गनुपर्ने, बैठक, गोष्ठी र सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने जारी आदेशमा उल्लेख गरिएको छ।
यस्तै, राति अबेरसम्म होटल तथा पसलहरु सञ्चालन नगर्न आग्रह गरिएको छ भने सीमा नाकाबाट फर्किंदा अनिवार्य कोरोना चेकजाँच गराएर फर्कन आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुनेसमेत उल्लेख गरिएको छ। उक्त आदेश अर्को व्यवस्था नभएसम्मका लागि लागु हुने जनाइएको छ। पछिल्लो समयमा छिमेकी देश भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ।
भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट आउने व्यक्तिको कोरोना परीक्षण गर्न थालिएको छ।
बैतडीमा हालसम्म ६४२ जनामा कोरोना पुष्टि हुँदा दुईजनाको मृत्यु भइसकेको छ। हालसम्म १६ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज दिइएको छ।
