धनगढी : बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकास्थित दोगडे खोलामा लघु जलविद्युत माइक्रोहाइड्रो आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका आधादर्जन गाउँमा रातमा पनि उज्यालिएको छ।
गाउँपालिकाको वडा नम्बर ६ का आधा दर्जन बढी गाउँमा बिजुली बत्ती पुगेको हो। गाउँमा बिजुली बत्ती बलेपछि स्थानीयहरू खुसी भएका छन्।
दोगडे खोलामा लघु जलविद्युत आयोजना निमार्ण गरेर सञ्चालनमा आएपछि विनाडा, भाडसैन, त्याडीगाउँ र गाँजरीमा बत्ती बलेको हो। २०७० सालदेखि निर्माण थालिएको आयोजनाबाट हालै विद्युत उत्पादन गर्न थालिएको हो। आयोजनाबाट ५५ किलोवाट विद्युत उत्पादन भइरहेको छ।
गाउँपालिका र वडा कार्यालयको करिब २ करोड रुपैयाँ लागतमा संरचना निर्माणदेखि विद्युत उत्पादनसम्मका काम भएको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताए। थापागाउँ, सिङराली, गोठेखान र रोतागाडामा घर वाइरिङ्गको काम सञ्चालनमा रहेकाले ती गाउँमा छिट्टै बिजुली बत्ती पुर्याउने उनले जानकारी दिए।
