धनगढी, माघ १६/ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले सुदूरपश्चिम प्रदेशको धनगढीदेखि सेवा विस्तार गरेको छ । लागु औषधको परीक्षण गरिने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सेवा धनगढीदेखि सेवा सुरु गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले धनगढीमा शाखा विस्तार गर्दै काम सुरु गरेको हो । प्रयोगशालाबाट तत्काल लागु औषध सम्बन्धी नमूना परीक्षणको काम सुरु गरिएको प्रयोगशाला धनगढीका निमिक्त प्रमुख विरेन्द्र चौधरीले जानकारी दिए ।
आगामी दिनमा प्रयोगशाला मार्फत डीएनए र लिखत परीक्षण सम्बन्धी सेवा सुरु गरिने चौधरीले बताए । यसअघि लागु औषध सम्बन्धी मुद्धामा नमूना परीक्षणको कार्य प्रयोगशालाको केन्द्रीय कार्यालयबाट हुँदै आएको थियो ।
यसले लागु औषध सम्बन्धी मुद्धाको अनुसन्धानमा धेरे समय लाग्ने गरेकोमा अब सहज हुने भएको छ । प्रयोगशाला स्थापनापछि प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायलाई लागुऔषधको मुद्धा अनुसन्धानमा सहजता हुने निमित्त प्रमुख चौधरीले बताए ।
लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार सरकारद्वारा प्रतिबन्धित औषधीहरुलाई नारकोटिक अर्थात लागुऔषधको रुपमा परिभाषित गरिएको छ । जस अन्तरगतका हिरोइन, कोकिन, अमफिटामाइन, मार्फिन, गाजा, चरेश लगायत लागुऔषध तथा यी लागुऔषधबाट बन्ने अन्य अवयवहरुको परीक्षण गरिने प्रयोगशाखा धनगढीका निमिक्त प्रमुख चौधरीले बताए ।