धनगढी, ११ पुस/ सात वटै प्रदेशमध्ये काम र क्षमताका हिसावले निस्प्रभावी देखिएका मुख्यमन्त्री त्रिलोचन भट्टसंगै प्रदेश सरकार संकटमा परेको छ ।
बागमती प्रदेशबाट शुरु भएको अविश्वासको प्रस्ताव संभवत सोमवारसम्म सुदूर पश्चिम प्रदेश सरकारसम्म पुग्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट उच्च स्रोतले बतायो ।
सुदूर पश्चिम प्रदेश सभामा बिगतमा कमजोर देखिएको ओली पक्ष केही दिनमै बलियो देखिएको छ । ५३ जना सदस्य रहेको सुदूर पश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्य थिए । जसमध्य यसअघि ओली पक्षका चार जना मात्र सदस्य थिए । प्रचण्ड–नेपाल पक्षका ३५ जना सदस्य थिए । सुदूर पश्चिम प्रदेश सरकारमा ओली पक्षधरका रुपमा एक जना मात्र भौतिक पूर्बाधार मन्त्री पठान सिंह बोहरा चिनिन्थे ।
नेकपा बिभाजनपछि प्रचण्ड–नेपाल समूहले प्रदेश सरकार एकल रुपमा चलाउन सक्ने संभावना ओली पक्ष बलियो भएपछि भने टरेको छ ।
ओली पक्षले शुक्रवार साँझसम्म ११ जना प्रदेश सभा सदस्य आफ्नो पक्षमा रहेको दावी मात्र गरेको छैन, त्यो संख्या शनिवारसम्म १४ पुग्ने दावी गरेको छ ।
संभवत सोमवारसम्म हामी सुदूर पश्चिम प्रदेश सरकारका बिरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिसक्ने छौ, ओली निकट एक केन्द्रीय नेताले भने, सबैभन्दा पहिले सुदूर पश्चिम प्रदेश सरकार ढल्ने निश्चित छ ।
अविश्वासको प्रस्ताव पारित हुन २७ जनाको आवश्यकता पर्नेछ । ओली पक्षले अविश्वास प्रस्तावका लागि काँग्रेस र राजपा९जसपा०संग सहकार्यका लागि छलफल भईरहेको जनाएको छ । काँग्रेसका १२ र राजपाका दुई जनालाई समेत जोडेर अविश्वास प्रस्ताव पारितका लागि प्रदेश सभा सदस्यको आवश्यक संख्या पुग्ने ती नेताले बताए ।
हामीलाई आवश्यक संख्या २७ जना हो, ती नेताले दावी गरे, हाम्रो साथमा त्यो भन्दा बढि प्रदेश सभा सदस्य हुने छन् ।
अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि तीन जना मन्त्री पठान सिंह बोहरा, झपट बोहरा र बिनिता चौधरीले मन्त्री पदबाट राजिनामा दिने तयारी गरिरहेको बताईएको छ । तिनैलाई ओलीलाई समर्थन गरेको ओली पक्षका केन्द्रीय नेताले बताए ।
तीन जना मन्त्री बाहेक कञ्चनपुरका महेशदत्त जोशी, डडेल्धुराकी कुन्ति जोशी, बझाङकी देवकी मल्ल, बैतडीका लिलाधर भट्ट, कैलालीका रतन थापा र नेपालु चौधरीले ओली पक्षलाई साथ दिएको ती नेताले बताए ।
अन्य चार जना प्रदेश सभा सदस्यले पनि आफ्नो पक्षलाई साथ दिएको र उनीहरु पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा खुलेर बाहिर आउने ती नेताको दावी थियो ।
प्रचण्ड–नेपाल समूह कमजोर भए मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार आगामि केही दिनमा ढल्नेछ । प्रचण्ड–नेपाल समूह बलियो भईरहेपनि मुख्यमन्त्री भट्टले भने सरकारमा निरन्तरता पाउने छैनन, स्रोतले भन्यो, मुख्यमन्त्री भट्टको नेतृत्व क्षमता कमजोर भएका कारण सुदूर पश्चिम प्रदेश सरकार आलोचित भईरहेकोले उनले निरन्तरता पाउने छैनन ।
ओली पक्ष जसरी पनि सुदूर पश्चिम प्रदेश सरकार ढाल्न जुटेको छ । मुख्यमन्त्री भट्टले आफ्नो पद जोगाउनका लागि आफूलाई मुख्यमन्त्री बनाउने नेता लेखराज भट्टको साथ छोडेपनि उनले अव मुख्यमन्त्री पदमा निरन्तरता पाउने संभावना छैन ।
ओली पक्षले सकभर आफ्नै पार्टीको नेतृत्वमा सुदूर पश्चिम प्रदेश सरकार बनाउने बताएको छ । यद्दपि काँग्रेसलाई साथमा लिएर जादा काँग्रेसलाई नै मुख्यमन्त्री पद दिन ओली पक्ष तयार छ । त्यसो भए काँग्रेसका संसदीय दलका नेता डा रण बहादुर रावल मुख्यमन्त्रीका रुपमा अगाडि सारिनेछन् ।
सुदूर पश्चिममा पछिल्लो समय कमजोर मानिएका ओली पक्षधर नेता लेखराज भट्टले केही दिनमै आफ्नो पक्षमा संघीय र प्रदेश सभाका प्रदेश सदस्यसंगै पूर्व माओवादीका नेताहरुलाई पनि पारेको ती नेताले बताए ।