चितवन, ४ भदौ/कोरोना भाइरसको सङ्क्रमण बढेसँगै साउन ३० गते रातिदेखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरियो । महानगरभित्र कोरोना सङ्क्रमितको सङ्ख्या सय पुग्नै लाग्दा मेयर रेणु दाहालकै अग्रसरतामा निषेधाज्ञा जारी गरियो । उनले जारी गरेको विज्ञप्तिअनुसार नै महानगर अहिले सुनसान छ ।
भदौ २ गते महानगरले अर्को विज्ञप्ति जारी गर्यो, ‘हरितालिका तीजको शुभकामना’ व्यक्त गरेर । मेयर दाहालले नै निकालेको विज्ञप्तिमा ‘नगरवासीलाई घरघरमा बसेर मास्क, स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दुरी कायम गरी तीज पर्व मनाउन विनम्र अनुरोध गर्दछु’ भनिएको छ ।
महानगरको सूचनाका आधारमा नगरवासी आ–आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् । आक्कल–झुक्कल माइत हिँड्नेलाई प्रहरीले जरिबाना तिराउने गरेको छ । चितवन प्रहरीले सडकमा हिँड्नेबाट पाँच लाख रुपैयाँभन्दा बढी जरिबाना असुल गरिसकेको छ ।
तर मेयर दाहाल आफू भने सुटुक्क माइत पुगेकी छन्। नागरिकलाई घरमै बस्न उर्दी जारी गरेर आफू भने सुटुक्क माइत पुगेको भन्दै महानगरभित्र उनको आलोचना भइरहेको छ । उनी माइत पुगेर ‘तीज विशेष छोरीहरुको साथ’ भन्दै फेसबुकमा तस्बिर आफैले पोस्ट गरेपछि कमेन्टमा समेत आलोचना भएको छ ।
भरतपुर महानगरमा कोरोनाका बिरामी राख्ने ठाउँ छैन । सङ्क्रमण बढ्दो छ । एकातिर निषेधाज्ञाले नागरिक घरमै उकुसमुकुस छन् । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याइएको बेड भरिएर कहाँ राख्ने भन्ने पिरलो छ । महानगरमै बसेर समस्या समाधान गर्न पहल गर्नुपर्ने समयमा प्रमुख दाहाल तीजको रमाइलो मान्न माइत पुगेर सामाजिक सञ्जालमा फोटो पोस्ट गरेकी छन् ।

महानगरभित्र लगाइएको निषेधाज्ञाका कारण पैदल हिँड्ने समेत जरिबाना तिर्न बाध्य छन् । कोरोना सङ्क्रमण बढ्दै गएका कारण त्रास बढ्दै गएको छ । ४ गते काठमाण्डौ गएकी मेयर दाहाल ७ गते मात्र चितवन फर्कने कार्यक्रम छ । मेयर काठमाण्डौ पुगेको जानकारी दिँदै महानगरले उनको अनुपस्थितिमा पनि महत्त्वपूर्ण काम नरोकिने बताएको छ ।
आफै कन्ट्याक्ट ट्रेसिङमा परेकी दाहाल पीसीआर परीक्षण गरेर माइती (काठमाण्डौ) पुगेकी हुन् । मेयर दाहालले बिहीबार दिउँसो फेसबुकमा पारिवारिक फोटो पोस्ट गरेपछि त्यसमा कमेन्ट गर्ने कतिपयले महानगरमा निषेधाज्ञा गरेर आफू अन्त हिँडेको भन्दै आलोचना गरेका छन् ।
सात वटा पालिका रहेको चितवनमा माडी नगरपालिका बाहेक छ वटा पालिकामा निषेधाज्ञा लागू गरिएको छ । भरतपुर महानगरपालिकाले अरु पाँच पालिकाभन्दा अगाडि नै महानगर क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।