काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन्। राष्ट्रपतिविरुद्ध विभिन्न झुठो प्रचार भएको भन्दै प्रवक्ता श्रेष्ठले ट्विट गर्दै यस्तो बताएका हुन्।
हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं, उनले भनेका छन्, राष्ट्रपति विरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं।
राष्ट्रपति विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने झुठो प्रचार भएको प्रति उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।
— NKShresthaPrakash (@nksthaprakash) July 4, 2020
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपतिलाई महाअभियोगको प्रस्ताव ल्याउने हल्ला चलेको भन्दै आफूले संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको बताएका थिए।
यसपछि प्रवक्ता श्रेष्ठले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न आग्रह गरेका हुन्।
पछिल्लो समय राष्ट्रपतिसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाट बाक्लिएको र अकस्मात् संसद्को बजेट अधिवेशन समेत अन्त्य भएको भन्दै राष्ट्रपतिले व्यक्ति विशेषको रुचिअनुसार काम गरेको आरोपसमेत लाग्ने गरेको छ।