काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद अन्त्य गर्न सिफारिस गरेपछि प्रचण्डले राष्ट्रपतिलाई भेटेका हुन् । स्रोतका अनुसार भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गर्दै ओलीले दल विभाजनको यात्रालाई अघि सारेको र त्यसमा राष्ट्रपतिको सघाउ पुगेको प्रति भनाई राखेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी छिन् । संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्ने अड्कल बढेको छ । जसमा राष्ट्रपतिको पनि सघाउ पुगेको भन्दै प्रचण्डले आपत्ति जनाएका थिए । यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए। पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।
उता, नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । यो संगै पार्टीभित्र शक्ति संघर्ष बढेको छ ।