काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । बुधबार बिहानै सरकारका सबै मन्त्रीका साथै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पनि बालुवाटार बोलाएका हुन् ।
नेकपा स्थायी समितिको हिजोको बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले भारतले नभई आफूले राजीनामा मागेको बताएका थिए ।
त्यसपछि बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए । राजीनामा माग भएसंगै प्रधानमन्त्री ओली संकटमा समेत परेका छन् । पूर्व माओवादी र पूर्व एमालेका केही मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी गरेको चर्चा चलेको र यस बारेमा पनि ओलीले छलफल गर्न लागेको बुझिएको छ ।
