धनगढी, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय सुदूर पश्चिम प्रदेश सभाको बैठक एक वर्षपछि मंगलबार बस्दैछ । ९ बजेदेखि बस्ने बैठकमा सहभागी हुन नेकपा संसदीय दलका सदस्यहरु संसदीय दलको कार्यालयमा आउनेक्रम शुरु भएको छ ।
सुदूर पश्चिम प्रदेश सरकारले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल गर्न तथा संसदमा निरन्तर रुपमा मुख्यमन्त्री त्रिलोचन भट्टको बिरोध भएपछि संसदीय दलका नेता भट्टले मंगलबार बैठक बोलाएका हुन् । प्रदेश सभामा बिरोध भईरहदा मुख्यमन्त्री भने अहिले सम्म संसदमा सहभागी भएका छैनन । नीति तथा कार्यक्रमलाई पारित गर्न तथा बिरोध मत्थर गर्ने मनशायले मुख्यमन्त्री भट्टले प्रदेश सभामा सहभागी हुनुअघि संसदीय दलको बैठक बोलाएको नेकपा एक सांसदले बताए ।
सामान्यतया नीति तथा कार्यक्रम ल्याउनुअघि आफ्ना दलका सांसदहरुसंग नीति कार्यक्रम कस्तो बनाउने भन्ने छलफल हुनुपथ्र्यो, प्रदेश सभा सदस्य महेश जोशीले भने, तर यहाँ त उल्टो भयो । नीति तथा कार्यक्रम ल्याएपछि पो संसदीय दलको बैठक डाकियो ।
आफ्नै दल र प्रतिपक्षसंग दलसंग पहिले नै छलफल गरिनुपर्ने हो, उनले भने, अझ सरकारले ल्याउनु पर्ने नीति तथा कार्यक्रमको जिम्मेवारी सरकारले मात्र नभएर सत्तापक्षका सांसदहरुले पनि लिनु पर्ने भएकोले सत्ता पक्षका सांसदहरुसंग अनिवार्य रुपमा छलफल गरिनु पर्ने हो ।
प्रदेश सभा सदस्य जोशीले सरकारले कुनै पनि प्रकृया नपुर्याएर नीति तथा कार्यक्रम ल्याएको बताए । यो मुख्यमन्त्रीको नीति तथा कार्यक्रम हो कि सरकारको ? उनले भने, त्यसैमा प्रश्न उठेको छ । मुख्यमन्त्री भट्ट नेकपा संसदीय दलका नेता हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, उप नेता । तर दुबै जना नेताले नेकपा संसदीय दलको कार्यालयमा एक वर्षयता दुबै नेता गएका छैनन ।