डडेल्धुरा : कोरोना भाइरस (कोभिड( १९) को संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएको अवस्थामा डडेल्धुरामा वन अतिक्रमणको अवस्था बारेमा बुझ्न सुदूरपश्चिम प्रदेशको संसदीय टोली डडेल्धुरा पुगेको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका १ को तडिपाटा क्षेत्रमा भएको वन अतिक्रमणको अवस्था अध्ययनका लागि टोली डडेल्धुरा पुगेर स्थलगत अनुगमन गरी फर्केको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । अतिक्रमण वन बारेमा स्थलगत रूपमा बुझ्न सुदूरपश्चिम प्रदेशको संसदीय समिति शनिबार डडेल्धुरामा पुगेको हो ।
टोलीमा समितिका सदस्य सांसद महेशदत्त जोशी, पूर्णा जोशी, गोविन्दराज बोहरा, अक्कलबहादुर रावल र देवराज पाठक सहभागी रहेका थिए ।लकडाउनको समयमा डडेल्धुरामा दर्जनभन्दा बढी स्थानमा अतिक्रमण भएको डिभिजन वन कार्यालय प्रमुख विक्ष्णप्रशाद अचार्यले बताए ।
जिल्लाको त्रिपुरा सुन्दरी सामुदायिक वन क्षेत्रमा केही दिनअगाडि अतिक्रमणको विषयमा सार्वजनिक भएसँगै उपभोक्ताले गरेको उजुरीका आधारमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति डडेल्धुरा पुगेको हो । जिलाको अन्य क्षेत्र चुरे र महाभारतका साथै भित्रिमदेशका सामुदायिक वनपनि अतिक्रमणमा परेका छन् । यतिबेला काठ तस्कर पनि सक्रिय वनेको डिभिजन वनकार्यालय डडेल्धुराले जनाएको छ ।
हालै भित्रिमदेशका विभिन्न वनबाट वन कार्यालयवाट खटिएको समूहले ठूलो मात्रामा काठ समेत बरामद गरेको कार्यालय प्रमुख आचार्यले बताए ।अहिले डडेल्धुराका विभिन्न स्थानमा अतिक्रमण बढेको छ । वन फडानी गर्दा आपसी विवादपछि मात्रै उजुरी परेको र धेरै जसो जमिन अतिक्रमणको चपेटामा परेको स्थानीय वासिन्दा गुमानसिंह ऐरले अनुगमन निरीक्षणमा पुगेको टोलीलाई बताएका छन् ।
प्रदेश संसदको अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कुँवरको नेतृत्वमा ६ जना सांसदको टोली डडेल्धुरामा पुगेको हो । टोलीले डडेल्धुरा जिल्लामा भएको वन अतिक्रमण बारे चासो राखेको र सरोकारवालासँग बुझेको टालिमा सहभागी सांसदले बताए ।
देश लकडाउन भएको समयमा सुदूरपश्चिमका तीन जिल्ला कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा अतिक्रमण भएको विषयमा समितिले अध्ययन अगाडि बढाएको अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति सभापति कुँवरले बताए । उपभोक्ताबाट नै अतिक्रमण भएको विषयमा उजुरी दिन थालेपछि स्थलगत अनुगमन बढाएको हो ।
अन्नपुर्ण पोष्ट