धनगढी, २६ बैशाख- भारतमा अलपत्र परेका सुदूरपश्चिमका नागरिकलाई उद्धार गर्न माग गरिएको छ । नेपाली जनसम्पर्क समिति भारत र नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र दिल्लीले अलपत्र परेका सुदूरपश्चिमका नागरिकलाई पहल गरिदिन माग गर्दै शुक्रबार सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावललाई ज्ञापन पत्र बुझाएको हो ।
यसअघि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाईसकेको भएपनि उद्धारको लागि कुनैपनि पहल नभएका कारण सरकारलाई दवाव दिन कांग्रेस संसदीय दललाई ज्ञापन पत्र बुझाएको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र दिल्लीका महासचिव खगेन्द्र बहादुर सिंहले बताए। शुक्रबार समितिहरुले संयुक्त रुपमा नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिमलाई ज्ञापन पत्र बुझाउँदै अलपत्र परेका नेपालीको उद्धार गर्न माग गरेका हुन ।
ज्ञापन पत्र बुझ्दै नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिमका नेता डा. रणबहादुर रावलले आफ्नो तर्फबाट भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्नको लागि सरकारलाई दवाव दिने बताए । संघिय सरकार र प्रदेश सरकार भारतमा अलपत्र नेपालीहरुलाई उद्वार गर्न उदाशिन भएको बताउदै संसदीय दलका नेता रावलले दबाव दिएर भएपनि भारतका नेपालीलाई नेपाल ल्याउन बाताबरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशमा लकडाउनको घोषणा संगै सिमानाकाहरु समेत बन्द भएका कारण सिमा नजिक पुगेर अलपत्र परेकाहरुलाई उद्धार गर्न नेपाली जनसम्पर्क समितिले माग राखेको छ । त्यसैमा नेपालीहरुको रोजगारी समेत गुमेकाले तत्काल सबैको उद्धार गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
९ देखि १० लाखको हाराहारीमा सुदूरपश्चिमेलिहरु भारतमा रहेको अनुमान गरिएपनि अहिले ४ देखि ५ लाखको हाराहारीमा समस्यामा रहेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका महासचिव खगेन्दबहादुर सिंहले बताए। ‘उनीहरु रोगले भन्दापनि भोगले मर्ने भन्दै तत्काल उद्धार गरियोस्। अलपत्र परेकाहरुलाई नेपाल प्रवेस गराएर क्वारेन्टाईनमा राखि कोरोना जाँच गरेर घर पठाउनुपर्छ’ ज्ञापन पत्रमा भनिएको छ ‘नत्र उनीहरुको भारतमै भएपनि व्यवस्थीत रुपमा खाने वस्ने व्यवस्था मिलाइनुपर्छ ।’
कयौ नेपालीहरुको भारतमा निकै कठिन पुर्ण जिवन बिताईरहेकोले उनीहरुको तत्काल उद्धार नगरे भने नेपाल सरकार प्रति विश्वास गुम्ने नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य हेमराज खत्री बताए । भारतमा नेपालीहरुलाई मालिक तथा रोजगारदाताहरुले कामबाट निकाली रहेको केन्द्रीय सदस्य खत्रीको गुनासो हरेको छ । भारतमा मजदुरी गरेर नेपालको अर्थतन्त्र मजबुत बनाउने नेपालीहरुलाई अहिले सरकारले सौतेलो व्यबहार गरिरहेको उनीहरुको आरोप छ ।