धनगढी, २३ बैशाख ।
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सुदुरपश्चिम कोभिड १९ (कोरोना भाइरस ) रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोष २०७६ बाट हालसम्म ३२ करोड २५ लाख ९२ हजार रुपैया खर्च गरेको जनाएको छ ।
स्वास्थ्य सामग्री खरिददेखि सुरक्षा निकाय र राहतका लागि स्थानिय तहका लागि सो रकम खर्च भएको रकमको अख्तियारी पाएको सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले बताए ।
प्रदेश सरकारले स्थापना गरेको कोषमा सरकार आफैले ४० करोड र अन्य क्षेत्रबाट भएको सहयोग भएको २ करोड ३८ लाख ८५ हजार ४४७ रुपैया जम्मा भएको थियो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रावतले अहिलेसम्म ८८ ओटै स्थानीय तहलाइ १५ करोड २६ लाख रकम उपलब्ध गराएको बताए । उनले बैशाख ३ गतेको सुदुरपश्चिम प्रदेश मन्त्री स्तरीय निर्णयले भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामग्री खरिदका लागी सामाजिक बिकास मन्त्रालयलाई १५ करोड ७३ लाख ८० हजार रुपैया दिइएको बताए ।
त्यस्तै प्रदेशको ९ वटै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखको दरले ४५ लाख, प्रदेश प्रहरी कार्यालय, नेपाली सेना तथा सशस्त्र प्रहरीलाई प्रत्येकलाई १५र१५ लाखका दरले ४५ लाख र राष्ट्रिय अनुसन्धान बिभागलाई १० लाख रुपैया उपलब्ध गराएको सचिव रावतले जानकारी दिए ।
यसैगरी बैशाख १४ गतेको सुदुरपश्चिम प्रदेश मन्त्री स्तरीय निर्णयले गोदावरी नगरपालिकालाई थप ३ लाख, प्रदेशका ९ ओटै जिल्ला प्रहरी कार्यालय कैलाली र कंचनपुरलाई ५र५ लाख र अन्य जिल्ला प्रहरी कार्यालयलाई ३र३ लाख गरि ३१ लाख र ९ ओटै जिल्लाका शसस्त्र प्रहरी गण र गुल्मलाई २४ लाख रुपैया उपलब्ध गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रावतले जानकारी दिए ।
त्यस्तै धनगढी उपमहानगरपालिकाको आग्रहमा बैशाख ८ गतेको मन्त्री स्तरीय बैठले धनगढी उपमहानगरपालिका ७ मा रहेको दृष्टि फाउन्डेसन र वडा नम्बर ५ मा रहेको मानव सेवा आश्रमलाई ७०र७० हजार रुपैया राहतका लागि उपमहानगरपालिकालाई दिइएको सचिव रावतले बताए । उनले अहिले कोषमा ९ करोड ७९ लाख ६५ हजार ४४७ रुपैया मौज्दात रहेको बताए ।