धनगढी, २३ बैशाख- कर्णाली नदीले टीकापुर क्षेत्रको नेपाल–भारत सीमा क्षेत्रमा तिब्र कटानी गरिरहेको छ । टीकापुर नगरपालिका–८ श्रीलंकामा तिब्र कटानी भैरहेको छ । नदी कटानले सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरु समेत जोखिममा छन ।
सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता तथा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने डा. रणबहादुर रावल लगायतको टोलीले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको अवस्थाका बारेमा जानकारी लिएका छन् । नदी कटानले थुप्रै सीमास्तम्भ गुमाउनु परेको डा. रावलले बताए । उनले यस बारेमा सम्बन्धित ठाउँमा कुरा पु¥याउने प्रतिवद्धता व्यक्त समेत गरे । ‘हाम्रो मात्रै पहलले सम्भव छैन । यो दुई देशको समस्या हो’ उनले भने–‘यस बारेमा सम्बन्धित ठाउँमा कुरा पु¥याउछु ।’ ७०१÷१ नम्बरको सहायक सीमास्तम्भ नदीमा बग्न थोरै मात्र बाँकी छ । सीमा स्तम्भ रहेको ठाउँबाट झण्डै दुई मिटरको दूरीमा नदी पुगिसकेको छ ।
नगरपालिका भित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ बेपत्ता छन। त्यस्तै सहायक सीमास्तम्भहरु ७०२र२ देखी ७०२÷७ सम्म, ७०४र३, ७०४र४, ७०४र६ र ७०५र३ समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ। ती मध्ये धेरैजसो सीमास्तम्भ पुर्न्निर्माणको समस्या भैरहेको छ । ‘सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ’ सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भने–‘कुन ठाउँमा पुननिर्माण गर्ने भन्ने नै अन्यौल छ ।’
‘यो सीमास्तम्भ कुनैपनि बेला नदीले बगाउने निश्चित छ’ टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले भने–‘हामीले चाहेर पनि जोगाउने अवस्था नै छैन।’ नेपालतर्फको थुप्रै भुभाग नदीले बगाइसकेको छ । अहिले नदी बगिरहेको ठाउँमा कुनैबेला मानव बस्ती थियो ।
यो नदी कुनैबेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो। स्थानीयका अनुसार २०४० सालमा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको थियो । सोही वर्ष कैलालीका थुप्रै गाउँ नदीले बगायो। तिनै गाउँहरु अहिले बगर बनेका छन् ।
अहिलेसम्म टीकापुर नगरपालिका भित्रका ४ मुख्य र १० सहायक सीमास्तम्भ नदीले बगाएको छ । ती मध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको हो। सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टका अनुसार नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी छ ।
कैलालीका मुख्य गरी टीकापुर र धनगढीका दुई ठाउँमा सीमा विवाद देखिएको छ । कैलालीमा जम्मा २८२ सीमास्तम्भ छन । ती मध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं. ४ का टीम लिडर सुदर्शन धामीले जानकारी दिए । उनका अनुसार ती मध्ये कतिपय सीमास्तम्भहरु नदी कटानका कारण बेपत्ता छन ।