टीकापुर, २०बैशाख । कोरोना नियन्त्रणका लागि भैरहेको लकडाउनका कारण विपन्न परिवारमा परेको समस्यालाई मध्यनजर विभिन्न संघसंस्थाहरुले टीकापुर नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन ।
नेपाली काँग्रेस कैलाली क्षेत्र नं। १ प्रदेश समिति ख र टीकापुर नगर समितिले २ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । पार्टीका स्थानीय नेता कार्यकर्ताहरुबाट आर्थिक संकलन गरेर खरिद गरिएको खाद्यान्न आजै नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा। रणबहादुर रावल र पूर्व स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले संयुक्त रुपमा मेयर तपेन्द्रबहादुर रावल र उपमेयर केशरी बिष्टलाई खाद्यान्न हस्तान्तरण गरेका छन ।
प्रदेश समिति सभापति प्रकाश शाहले ५० क्विन्टल चामल र ४ क्विन्टल दाल हस्तान्तरण गरिएको जानकारी दिए । उनले विपन्न परिवारलाई राहत वितरणका लागि खाद्यान्न सहयोग गरेको बताए । उनले नागरिकलाई परेको समस्यामा नेपाली काँग्रेस सदैव समाधानका रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै प्रदेश समिति र नगर समितिले टीकापुरमा कार्यरत पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको छ । विभिन्न १५ जनालाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलमार्फत पत्रकारहरुलाई मास्क र सेनिटाइजर प्रदान गरिएको छ ।