धनगढी, वैशाख १३- विभिन्न ठाउँबाट ल्याईएकाहरुलाई क्वारेन्टिनमा राख्दै चेकजाँच गरेर मात्रै घर पठाउन नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले माग गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको जोखिमबाट नेपाल अझै पनि मुक्त नभइसकेको भन्दै सुदूरपश्चिम प्रदेशका संसदीय दलको नेता डा. रणवहादुर रावलद्धारा आज जारी विज्ञप्तीमा स्वदेश तथा विदेशबाट आएका सवै जनालाई अनिवार्य रुपमा क्वारेन्टिमा राखेर चेकजाँच गरेपछि मात्रै घर घरमा पठाउन माग गरिएको हो ।
अहिले पनि सुदुरपश्चिममा बाहिरी जिल्लाबाट दैनिक ठूलो संख्यामा मानिस आइरहेको सन्दर्भमा त्यसरी आउने व्यक्तीहरुको व्यवस्थित अभिलेख राख्दै उहाँहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने तथा क्वारेन्टिनमा राख्नेतर्फ अझ बढी ध्यान दिन विज्ञप्ती मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टिनलाई अझैं प्रभावकारी बनाउँदै जानुपर्ने र प्रत्येक स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र क्वारेन्टिनमा राख्नुपर्ने, हरेक व्यक्तीको पहिचान गरेर राख्नुपर्नेमा कैलालीको टीकापुर नगरपालिकाले डेढ सय जना भन्दा बढी आफ्नो पालिकाभित्र बनाइएका क्वारेन्टिनमा राखिएकामध्ये धेरै व्यक्तीलाई बिना परीक्षण घर पठाएकोमा नेपाली काँग्रेस, सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । आज निकालिएको विज्ञप्तीमा भनिएको छ– पछिल्लो दुई साता यता कैलाली लगायत सुदूरपश्चिम प्रदेशभरी कोरोना भाइरस संक्रमणका नयाँ बिरामी देखा नपरेकोमा हामी कोरोनाको जोखिमबाट मुक्त भइसक्यौं भन्ने निष्कर्ष निकालियो भने ठूलो दुर्भाग्य हुनसक्ने तर्फ हामी सम्वद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं । नेपाली काँग्रेस, सुदूरपश्चिम प्रदेश सभा संसदीय दल प्रदेशका सबै स्थानीय तहलाई आ–आफ्नो पालिकाभित्र रहेका क्वारेन्टिनलाई अझ व्यवस्थित गर्न तथा बाहिरबाट आएका प्रत्येक व्यक्तीलाई संघीय स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार क्वारेन्टिनमा राख्ने तथा आवश्यक परीक्षण गर्नेतर्फ प्रभावकारी प्रबन्ध गर्न अनुरोध गर्दछ ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण सरकारले लागू गरेको लकडाउनको एक महिना वितिसकेको अवस्थामा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदूर, विपन्न वर्ग, लघु व्यवसायी, असहाय, अशक्त, बृद्धबृद्धाले एक छाक जुटाउन पनि नसक्ने अवस्था सिर्जना भइसकेको भन्दै संसदीय दलले यी सबै वर्गलाई न्यायोचित रुपमा खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्नुपर्ने राज्यको दायित्व भएकोले यसतर्फ ध्यान दिन आग्रह गरिएको छ । तर, राहतका नाममा स्थानीय तह तथा जनप्रतिनिधिहरुबाट भेदभाव भइरहेको, राजनीतिक आस्थाका आधारमा आफ्ना कार्यकर्तालाई राहत वितरण गरिरहेको, पाउनुपर्ने व्यक्तीले भन्दा पनि हुने खाने परिवारले राहत पाइरहेको देखिएको भन्दै विज्ञप्तीमा प्रत्येक वडामा छरितो ढंगको सर्वपक्षीय सर्वदलीय राहत वितरण समिति मार्फत पारदर्शी र न्यायोचित रुपमा राहत वितरणको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरुलाई नेपाली काँग्रेस, सुदूरपश्चिम संसदीय दलले अनुरोध गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको कुनै पनि तहको जोखिम रहेका क्षेत्रमा परीक्षण कार्यलाई अझ द्रुत बनाउन समेत सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काग्रेंस भयावह विपत्तीको वेला सुदूरपश्चिम प्रदेशवासीको साथमा रहेको स्पष्ट पारिएको छ । प्रत्येक नागरिकले कोरोना भाइरस संक्रमणबाट आफू जोगिन तथा अरुलाई जोगाउन उच्च सतर्कता अपनाउन तथा लकडाउनको पूर्ण पालना गर्न पनि संसदीय दलले सबैमा अनुरोध गरेको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलद्धारा जारी विज्ञप्ती
नेपाली कांग्रेस संसदीय दल
संसदीय दलको कार्यालय
सुदूरपश्चिम प्रदेश, धनगढी
मिति ः २०७७ बैशाख १३ गते
विषयः प्रेस विज्ञप्ती
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको जोखिमबाट नेपाल अझै पनि मुक्त भइसकेको छैन । खासगरी सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर २ र प्रदेश नम्बर १ मा कोरोना भाइरस संक्रमणको जोखिम अझ उच्च रहेको तथ्यांकले देखाइरहेको छ । हुन त सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमित पाँच जनामध्ये अहिलेसम्म चार जना निको भएर घर फर्किसकेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ तर भारतसंगको खुला सिमाना तथा भारतका सिमावर्ती क्षेत्रका साथै नेपालकै अरु जिल्लाबाट सुदूरपश्चिम प्रदेशमा मान्छेको आगमन जारी रहेको सन्दर्भमा सुदूरपश्चिम प्रदेश अझैं पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको कडाईका साथ पालना, शंकास्पद व्यक्तीलाई व्यवस्थित क्वारेन्टिनमा राख्ने तथा कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तीलाई आइसोलेशनमा राखेर उपचार गर्ने, कोरोना रोकथामका लागि निरन्तर जागरुकता देखाउनु नै यसको संक्रमणको जोखिम न्युन गर्ने विकल्पहीन उपाय हो भन्नेमा विमति रहँदैन ।
१. कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टिनलाई अझैं प्रभावकारी बनाउँदै जानुपर्ने र प्रत्येक स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र क्वारेन्टिनमा राख्नुपर्ने हरेक व्यक्तीको पहिचान गरेर राख्नुपर्नेमा कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा राखिएकामध्ये डेढ सय जना भन्दा बढी आफ्नो पालिकाभित्र बनाइएका क्वारेन्टिनमा राखिएकामध्ये धेरै व्यक्तीलाई बिना परीक्षण घर पठाएकोमा नेपाली काँग्रेस, सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो दुई साता यता कैलाली लगायत सुदूरपश्चिम प्रदेशभरी कोरोना भाइरस संक्रमणका नयाँ बिरामी देखा नपरेकोमा हामी कोरोनाको जोखिमबाट मुक्त भइसक्यौं भन्ने निष्कर्ष निकालियो भने ठूलो दुर्भाग्य हुनसक्ने तर्फ हामी सम्वद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं । नेपाली काँग्रेस, सुदूरपश्चिम प्रदेश सभा संसदीय दल प्रदेशका सबै स्थानीय तहलाई आ–आफ्नो पालिकाभित्र रहेका क्वारेन्टिनलाई अझ व्यवस्थित गर्न तथा बाहिरबाट आएका प्रत्येक व्यक्तीलाई संघीय स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार क्वारेन्टिनमा राख्ने तथा आवश्यक परीक्षण गर्नेतर्फ प्रभावकारी प्रबन्ध गर्न अनुरोध गर्दछ ।
२. कोरोना भाइरस संक्रमणका कारण सरकारले लागू गरेको लकडाउनले एक महिना नाघेको छ । यतिलामो समयसम्म लकडाउन हुँदा निश्चय पनि सबै क्षेत्र अस्तव्यस्त बनेको छ । त्यसमा पनि दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदूर, विपन्न वर्ग, लघु व्यवसायी, असहाय, अशक्त, बृद्धबृद्धाले एकछाक जुटाउन पनि नसक्ने अवस्था सिर्जना भइसकेको छ । यी सबै वर्गलाई न्यायोचित रुपमा खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्नुपर्ने राज्यको दायित्व हो । तर, राहतका नाममा स्थानीय तह तथा जनप्रतिनिधिहरुबाट भेदभाव भइरहेको, राजनीतिक आस्थाका आधारमा आफ्ना कार्यकर्तालाई राहत वितरण गरिरहेको, पाउनुपर्ने व्यक्तीले भन्दा पनि हुने खाने परिवारले राहत पाइरहेको देखिएको छ । नेपाली काँग्रेस, सुदूरपश्चिम संसदीय दल प्रत्येक वडामा छरितो ढंगको सर्वपक्षीय सर्वदलीय राहत वितरण समिति मार्फत पारदर्शी र न्यायोचित रुपमा राहत वितरणको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरुमा आग्रह गर्दछ ।
३. अहिले पनि कैलालीमा बाहिरी जिल्लाबाट दैनिक ठूलो संख्यामा मानिस आइरहेको सन्दर्भमा त्यसरी आउने व्यक्तीहरुको व्यवस्थित अभिलेख राख्दै उहाँहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने तथा क्वारेन्टिनमा राख्नेतर्फ अझ बढि ध्यान दिन प्रदेश सरकारको पुनः ध्यानाकर्षण गर्दछौं ।
४. सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको कुनै पनि तहको जोखिम रहेका क्षेत्रमा परीक्षण कार्यलाई अझ द्रुत बनाउन समेत सरकारको ध्यानाकर्षण गर्दछौ ।
५. नेपाली काँग्रेस, सुदूरपश्चिम प्रदेश, संसदीय दल यो भयावह विपत्तीको वेला सुदूरपश्चिम प्रदेशका सम्पूर्ण दिदीबहिनी, दाजुभाईको साथमा रहेको छ । प्रत्येक नागरिकले कोरोना भाइरस संक्रमणबाट आफू जोगिन तथा अरुलाई जोगाउन उच्च सतर्कता अपनाउन तथा लकडाउनको पूर्ण पालना गर्न सबैमा विनम्रतापूर्वक अनुरोध गर्दछौं ।
डा. रणवहादुर रावल
संसदीय दलको नेता
सुदूरपश्चिम प्रदेश
जय नेपाल
