धनगढी, ६ बैशाख- सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस संसदीय दलले यो विषम परिस्थितिमा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका साथै लामो लकडाउनका कारण सिर्जित समस्याहरुको प्रभावकारी रुपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
शनिबार सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बिज्ञप्ती प्रकाशित गर्दै यो त्रासदीको अवस्थामा दुःखकष्ट बेहोरिरहेका जनताका लागि प्रदेश सरकारले पूर्ण रुपमा अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा सरकारका कामकारबाही तथा कतिपय निर्णयले उल्टै जनतामाथि सास्ती थपिँदै गएका भन्दै आपत्ती जनाएको छ ।
‘हाम्रै प्रदेश सुदूरपश्चिममा अहिले पाँच जना कोरोना संक्रमित उपचारमा रहेका छन्’ बिज्ञप्तीमा भनिएको छ–‘कोरोना भाइरस परीक्षणमा ढिलाई हुँदा यसको रोकथाम प्रयास प्रभावित त भएकै छ, ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा बारम्बार त्रुटी दोहोरिएपछि यसको विश्वसनीयतामाथि पनि आशंका बढेको छ ।’
अर्कोतिर लामो लकडाउनका कारण मजदुर, विपन्न बर्ग, असहाय, आदिले निकै कठिनाई भोग्नु परेको छ । खाने बस्ने व्यवस्था नभएपछि घर पैदल नै सयौं किलोमिटर पैदल यात्रा गरिरहेका हजारौं विद्यार्थी, मजदुर सहित सर्बसाधारणले बेहोरेका दुःखकष्ट हृदयविदारक छन् । सुदूरपश्चिम प्रदेशको अवस्था अझ भयावह बनेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले दुख व्यक्त गरेको छ ।
गेटा मेडिकल कलेजमा छिटोभन्दा छिटो कोरोना संक्रमितको भरपर्दो र विश्वसनीय उपचारका लागि सकेसम्म सम्पूर्ण अत्याधुनिक सुविधा सहितको कोरोना उपचार अस्पताल बनाउनेतर्फ गम्भीर भएर सरकार अग्रसर हुन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना सम्बन्धी परीक्षणलाई अझ प्रभावकारी बनाउने तथा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) लाई विश्वसनीय बनाउन तथा भारत तथा अन्य मुलुकबाट नेपाल आएका सबै व्यक्ति तथा उनका परिवारका सबै सदस्यको छिटोभन्दा छिटो विश्वसनीय परीक्षण गर्ने प्रबन्ध मिलाउन तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारको अग्रिम मोर्चामा रहेका चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी र एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षाका लागि हरसम्भव उत्कृष्ट व्यवस्था मिलाउन समते प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
काँग्रेसले लकडाउनका कारण बाटोमा अलपत्र परेका, आफ्नो घर जान नपाएर विचल्लीमा परेका सुदूरपश्चिमका कोही पनि नागरिकको तत्काल उद्दार गर्ने, उहाहरुको खाना तथा बासको उचित प्रबन्ध मिलाउने, उहाहरुलाई क्वारेन्टाईनमा राखेर सुरक्षित गर्नेतर्फ सरकारले अहिलेसम्म कुनै ध्यान दिन सकेको छैन । जस्तोसुकै अवस्थामा पनि जनताको बाच्न पाउने अधिकारको रक्षा गर्नु तथा अफ्ठेरोमा परेका नागरिकको उद्दार तथा राहत प्रदान गर्नु सरकारको दायित्व भएकाले प्रदेश सरकारले त्यसको अबिलम्ब व्यबस्था गराउन समेत माग गरेको छ ।
लकडाउन लम्बिदै जादा कृषि लगायतका सम्पूर्ण आर्थिक गतिविधि ठप्प हुदै गएको छ बिज्ञप्तीमा भनिएको छ लकडाउनको विकल्प नभएको र कृषि लगायतका आवश्यक कार्य लामो समय रोक्न पनि नमिल्ने भएकाले वर्षे खेतीपातीको समय शुरु हुनु अगावै किसानका लागि आवश्यक मलखाद, वीऊविजनको प्रबन्ध गर्ने तथा सुरक्षित ढंगबाट कृषि कार्य सञ्चालन गर्नेतर्फ सरकारले तत्काल पहलकदमी गर्नुपर्दछ ।
चालू आर्थिक वर्षको २०७६÷०७७ मा सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गत चैत्र मसान्तसम्म पाँच करोड ८४ करोड ७६ लाख (२०.७६ प्रतिशत) मात्र वित्तीय खर्च रहेको छ । आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी छ । लकडाउन अझैं लम्बिने सम्भावना छ । त्यसैले प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका साथै विपत्ती भोगिरहेका जनताको राहतका लागि चालू आर्थिक वर्षको बजेटबाट १५ अर्ब रुपैयाँ खर्च गर्नेगरी व्यवस्थापन गर्न नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दल सरकारसंग आग्रह समेत गरेको छ ।
साथै नेपाली काँग्रेस, सुदूरपश्चिम प्रदेश, संसदीय दल यो भयावह विपत्तिको वेला सुदूरपश्चिम प्रदेशका सम्पूर्ण दिदीबहिनी, दाजुभाईको साथमा रहेको बताउदै प्रत्येक नागरिकले कोरोना भाइरस संक्रमणबाट आफू जोगिन तथा अरुलाई जोगाउन उच्च सतर्कता अपनाउन तथा लकडाउनको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ ।
