काठमाडौं, ४ पुस- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने बैठकले पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका साबर्जनिक गर्नुका साथै नेविसंघको नेतृत्व चयन, तरुण दलको म्याद थप लगायतका बिषयमा निर्णय गर्ने तयारी गरेको भए पनि सहमतिका लागि भन्दै पुन बैठक स्थगित गरिएको छ। अर्को बैठक पुस १० गते बस्नेछ।
शुक्रबारको बैठकमा महाधिबेशन कार्यतालिका पेश गर्ने तयारी पनि भइरहेको छ। स्रोतका अनुसार १४ औं महाधिबेशन फागुन ७–१० गर्ने गरी कार्यतालिका ल्याइदैछ। बरिष्ठ नेता रामचन्द्र पौडेल समूह महाधिबेशनको कार्यतालिका सार्बजनिक गर्नुपर्ने अडान राख्दै एक सातादेखि केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ।
एक सातादेखिको केन्द्रीय समिति बैठक स्थगित गरेर सहमतिको प्रयास जारी राखेको कांग्रेस संस्थापन पक्षबाट गठित कार्यदलका संयोजक विमलेन्द्र निधि शुक्रबार १ बजे शुरु हुने बैठकअघि पनि सहमतिको खोजीमा जुटिरहेका छन्। अर्कातिर, रामचन्द्र पौडेलले गठन गरेको प्रकाशमाान सिंह नेतृत्वको कार्यदल पनि सहमतिका लागि प्रयास गरिरहेको छ। निधि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल गरिरहेका छन् भने सिंहसहितका नेताहरु पौडेल निवास बोहोराटारमा भेला भएर छलफल गरिरहेका छन्।
पौडेलले अघि सारेको महाधिबेशन कार्यतालिको प्रमुख मुद्धामा संस्थापन तयार भएपछि पछिल्लो समय नेविसंघ र तरुण दलको भागबण्डालाई प्रमुख एजेण्डा बनाइएको छ। नेविसंघको अध्यक्षमा सभापति देउवाले राजीब ढुंगानाको नाम प्रस्ताब गरिसकेका छन्। नेतृत्व नपाउने भएपछि नेता पौडेल एकल पदको पक्षमा छन् भने कृष्णप्रसाद सिटौला तीनजना महामन्त्री राखेर आप्mनो टिमको हैसियत नैनसिं महर नेतृत्वको नेविसंघकै हुनुपर्ने अडानमा छन्। उता, सभापति देउवा शुरुमा तीन महामन्त्री राखेर एक एक भागबण्डा गर्ने पक्षमा रहेको भए पनि पछिल्लो समय विजय गच्छदारले एक महामन्त्री पाउनुपर्ने अडान राखेपछि चार महामन्त्रीको प्रस्ताब गरेका छन्।
तरुण दलको भने कार्यकाल थप गरी कार्यसमिति बिस्तार गर्ने तयारी छ। पौडेल पक्षकै सहमतिमा हटाइएका तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाही पुनः महामन्त्री हुनुपर्ने कतिपयको भनाई रहे पनि पौडेल उनका पक्षमा देखिएका छैनन्। सार्बजनिक रुपमै शाहीले पौडेलको बिरोध गरेपछि पक्षमा नदेखिएका हुन्। त्यसैले महामन्त्रीमा अन्यलाई अघि सार्ने पौडेल पक्षको तयारी छ। पौडेल निवास बोहोराटारको छलफल नेविसंघ, तरुण दल लगायतका बिषयमा केन्द्रित रहेको बताइएको छ।