काठमाडौं– नेपाली कांग्रेस भित्रको विवाद अन्त्यका लागि सहमति जुटेको छ । भागवण्डाको आधारमा विवाद मिलाउन लागिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई भ्रातृ संस्था र विभागमा ४० प्रतिशत हिस्सेदार बनाएर विवाद अन्त्य गर्न लागिएको स्रोतले जनाएको छ ।
बिहीबारदेखि डाकिएको बैठक पौडेल पक्षको असहयोगका कारण सुचारु हुन सकेको छैन। १४ औं महाधिवेशनको एकल माग उठाएको पौडेल पक्षले प्याकेजमा सहमतिका लागि थप प्रस्ताव उठाएको थियो। पछिल्ला बैठकबाट संस्थापन पक्ष १४औं महाधिवेशनको मिति तोक्न समेत तयार भएको थियो। पौडेल पक्षले उठाएको महाविधेशनको कार्यतालिका सम्बोधन गर्न संस्थापन पक्ष तयार भए पनि भागवण्डामा अन्तिम सहमति हुन बाँकी रहेको बताइएको छ।
भ्रातृ संस्था,विभाग र कार्यसम्पादन समितिमा तीन पक्षले भागवण्डा गर्न लागेको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिए। संस्थापन पक्षले ६० प्रतिशत आफ्नो समूहलाई छुट्याएर ४० प्रतिशत पौडेल समूहलाई दिने तयारी गरेको छ। ६० प्रतिशतमा देउवाले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षलाई समेत समेट्ने बताइएको छ।