काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएकामध्ये केही नेताले फर्केर नेपाल कम्युनिस्ट पार्टी संयुक्त पुनर्गठन गरेका छन्।
तत्कालीन नेकपा माओवादी केन्द्र हँुदै नेकपामा पुगे पनि नेताहरूले गत चैत अन्तिमतिर सम्मेलन गरेर चन्द्रदेव जोशीको नेतृत्वमा नेकपा संयुक्तको पुनर्गठन गरेका हुन्। पुनर्ग्ठित नेकपा संयुक्तले निर्वाचन आयोगबाट पुरानै हसियाँ चुनाब चिन्ह प्राप्त गरिसकेको छ।
‘तत्कालीन माओवादी केन्द्रसँग एकीकरण गर्ने भनिएको हो, तर एकीकरण नै भएको थिएन,’ जोशीले नेपालन्युजसँग भने, ‘हामीसँगको एकीकरण प्रक्रिया नटुंगिदै माओवादी एमालेसँग एकीकरण गर्न गयो, तर केही साथीहरू भने गएनौं।’ संयुक्तका तत्कालीन अध्यक्ष गणेश साहलगायत केही मात्रै माओवादी केन्द्र हँुदै नेकपामा प्रवेश गरे पनि धेरैजसो पुरानै पार्टीमा रहेको उनको जिकिर छ।
२०७४ साल असोज २५ गते तत्कालीन माओवादी र संयुक्तबीच पार्टी एकीकरण घोषणा बुद्धनगरस्थित एक पार्टी प्यालेसमा गरिएको थियो। त्यसलगत्तै, माओवादी केन्द्रका १५ जना सचिवालय सदस्यमध्ये ८ जना संयुक्तबाट प्रतिनिधित्वसमेत गराइएको थियो। स्थानीय तह निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग संयुक्त रूपमा उम्मेदवारी खडा गरे पनि असोज २५ गते माओवादी–संयुक्त एकीकरणको घोषणा गरिएको थियो।
‘पार्टी एकीकरणको घोषणा गरियो, तर एकीकरणको बाँकी काम अघि बढाइएन, नबढाएपछि पार्टी एकीकरण हुन नसकेको हो,’ जोशीको दाबी छ। अध्यक्ष जोशी सातौं र आठौं महाधिवेशनबाट संयुक्तको अध्यक्ष चुनिएका थिए। साह नवौं महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए। आफू अध्यक्षमा चुनिएपछि साहले माओवादीसँग पार्टी एकीकरणको घोषणा गरेपछि जोशीलाई भने कुनै त्यस्तो जिम्मेवारी दिइएको थिएन।
‘पार्टी एकीकरणपछि चन्द्रदेवजीलाई जुन जिम्मेवारी दिनु पथ्र्याे, त्यो दिइएन,’ संयुक्तका एक नेताले भने, ‘एकीकरणपछि न माओवादी केन्द्रले उहाँहरूलाई ठोस जिम्मेवारी दियो, न नेकपाले नै। त्यसमा उहाँको असन्तुष्टि रहेको थियो।’ उनकाअनुसार गत चैत २१–२३ सम्म संयुक्तका पुराना टिमलाई जोडेर जोशीले भेला आयोजना गरेका थिए। भेलाले जोशीलाई अध्यक्ष चयन गर्दै संयुक्त पुनर्गठन गरेको थियो।
जोशी संयुक्तका अध्यक्ष छन् भने केदारचन्द्र शर्मा महासचिव चुनिएका छन्। पुरानो नेकपा संयुक्तका १८ मध्ये दुई वैकल्पिक सदस्यसहित ११ जना जोशीसँगै संयुक्तमा फर्किएका छन् ।
तर, नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष साह, सुनिल मानन्धर, पदम जोशीलगायत नेता भने नेकपामै छन्। साह नेकपा स्थायी समिति सदस्य छन् भने मानन्धरलगायत नेतालाई केन्द्रीय समिति सदस्यको जिम्मेवारी दिइएको छ।
अध्यक्ष साहसँगै नवौं महाधिवेशनवाट महासचिव चुनिएका ठाकुरप्रसाद शर्मा चाहिँ न जोशीसँगै संयुक्त पुनर्गठनमा लागेका छन, न साहसँगै नेकपामा आबद्ध भएका छन्। उनी राजनीतिबाट लगभग निष्क्रियजस्तै रहेका छन्।