आते जाते रस्ते मे यादेँ छोड जाता है…
फिल्म (हिन्दी फिल्म) संगीतका करिबकरिब सबै प्रशंसक फिल्म ‘अपनापन’को यो सुपरहिट गीतबाट परिचित छन् । निर्माता–निर्देशक जे ओमप्रकाशको फिल्म ‘अपनापन’ सन् १९७८ मा जब प्रदर्शनमा आयो, यो गीत र फिल्मले लोकप्रियता र सफलताको नयाँ आयाम कायम गर्यो ।
र यतिबेला…, ‘अपनापन’ सहित ‘आया सावन झूम के’, ‘आन मिलो सजना’, ‘आप की कसम’, ‘आशा’ र ‘आखिर क्योँ’ जस्ता अनेकन सुपर हिट फिल्मका फिल्ममेकर जे ओमप्रकाशले यो संसारलाई अलबिदा भनेर सबैलाई भावुक बनाएका छन् । साथै, जिन्दगीकोे बाटोमा आफ्ना धेरै सम्झना छाडेर गएका छन् ।
त्यसो त जे ओमप्रकाशका सबैजसो फिल्मका गीत लोकप्रिय हुनुका साथै त्यसको सुन्दर शब्दका कारण पनि सम्झना गरिन्छ । तर आफ्नो फिल्मका गीतहरू मध्ये उनले सबैभन्दा धेरै मनपराएको गीत त्यही नै थियो, ‘आदमी मुसाफिर है…’।
अहिले धेरैजसो मानिस जे ओमप्रकाशको कुरा गर्दा चर्चित अभिनेता ऋतिक रोशनका मामाघर तिरका हजुरबुवा भनेर कुरा गर्छन् । तर यथार्थ भन्ने हो भने उनको उचाइ एक फिल्मकर्मीका रुपमा धेरै अग्लो रहेको छ ।
एक समय थियो जब उनको नामको डंका बज्थ्यो । त्यसबेला फिल्मी क्षेत्रमा सफलताको अर्को नाम थियो – जे ओमप्रकाश ।
अभिनेता निर्देशक राकेश रोशनकी पत्नी पिङ्की, जे ओमप्रकाशकी छोरी हुन् । यस नाताले राकेश रोशनका ससुरा थिए उनी । तर राकेश रोशनले पनि उनलाई ससुराभन्दा अधिक पिताका रुपमा माने । जे ओमप्रकाशले पनि आफ्ना ज्वाईँलाई लिएर ‘आँखो आँखो मे’ सहित केही अरु पनि फिल्म बनाएका थिए ।
उता ऋतिक रोशनले सबैभन्दा पहिले ६ वर्षको उमेरमा आफ्ना हजुरबुबाको फिल्म ‘आशा’बाटै फिल्म जगतमा पाइला चालेका थिए । पछि पनि ऋतिकले बालकलाकारका रुपमा ‘आस पास’ जस्ता फिल्ममा काम गरे ।
ऋतिकसँगको नाता
जे ओमप्रकाश र ऋतिक अर्थात हजुरबुबा र नातीका बीच एकदमै सुमधुर र मजबुत सम्बन्ध थियो । दुबैमा प्रेम पनि गज्जबको थियो । यहाँसम्म कि, जे ओमप्रकाशले आफ्नो वसियतनामामा आफ्नो अन्तिम संस्कार ऋतिक रोशनले गर्ने समेतका कुरा उल्लेख गरेका थिए ।
हालसालै जब ऋतिकको फिल्म ‘सुपर– ३०’ प्रदर्शनमा आयो, त्यसबेला ऋतिकले भनेका थिए, “मेरा सुपर टिचर त मेरा हजुरबुवा जे ओमप्रकाश हुन् ।”
स्पटब्वायका रुपमा करियर सुरु
स्वतन्त्र हुनुपूर्वको अविभाजित भारतको सियालकोटमा २४ जनवरी १९२७ मा जन्मिए जे ओमप्रकाश । उनका पिताजी लाहोरको एक विद्यालयमा शिक्षक थिए । त्यसैले ओमप्रकाशलाई पढाईलेखाईमा सानैदेखि नै रुची थियो ।
देश स्वतन्त्र भएपछि जे ओमप्रकाश मुम्बई आए । जहाँ उनले फिल्मी क्षेत्रमा केही गर्ने सोच बनाए । तर यो बाटो सजिलो थिएन । त्यसैले ओमप्रकाशले कामको सुरुआत स्पट ब्वायका रुपमा गर्नुपर्यो ।
एक पटक कुराकानीका क्रममा जे ओमप्रकाशले भनेका थिए, “मैले स्पटब्याय भएर काम गरे पनि वा कुनै सानो तिनो अरु काम गर्दा पनि हमेशा फिल्मका निर्देशकले फिल्को दृश्यलाई कसरी छायाँकन गरिरहेका छन् भन्ने कुरामा ध्यान दिन्थेँ । यसबाट मैले धेरै कुरा सिकेँ ।”
उता जे ओमप्रकाशले सुरुदेखि नै आफ्नो गुरुका रुपमा आफ्ना पिताजीलाई हेरे । एक पटक उनले भनेका थिए, “मैले आफ्ना पिताजीबाट सिकेको थिएँ, ‘तिमी जिन्दगीमा के गरिरहेका छौ, त्यो भन्दा जरुरी हुन्छ तिमीले एउटा छात्रका रुपमा हरेक काममा आफ्नो ज्ञान बढाउँने कोशिस गर्नु । हामीले यो कहिले पनि सोच्नु हुँदैन कि हामीलाई सबै चिज आउँछ । बरु हरेक पल केही नयाँ सिक्ने लोभ मानिसमा हुनुपर्छ ।”
‘आस का पन्छी’बाट आशा
फिल्मी क्षेत्रमा करिब १० वर्ष संघर्ष गरे पछि जब जे ओमप्रकाशलाई फिल्मी विधाका विषयमा जब तत्व ज्ञान भयो, त्यस पछि उनले आफैले फिल्म बनाउने निधो गरे । र, सन् १९६० मा उनले आफै निर्माता भएर फिल्म बनाउने निर्णय गरे ।
फिल्मको नाम राखियो, ‘आस का पन्छी’, जसलाई प्रख्यात लेखक राजेन्द्र सिंह बेदीले लेखेका थिए । यो फिल्ममा त्यसबेलाका उदीयमान कलाकार राजेन्द्र कुमारलाई नायकमा लिइयो भने नाम चलेकी नायिका बैजयन्ती मालालाई नायिकाका रुपमा लिइयो ।
‘आस का पन्छी’को निर्माण त जे ओमप्रकाशले गरे, तर यसको निर्देशनका लागि उनले पहिलो मौका दिए साथी मोहन कुमारलाई । यो फिल्म सन् १९६१को जनवरीमा प्रदर्शित भएको थियो । र, फिल्म हिट भयो ।
त्यसो त उनले आफ्नो दोस्रो फिल्म ‘आई मिलन की बेला’ लाई निर्माण गरेर रिलिज गर्न तीन वर्ष लगाए । हिरो यस पटक पनि राजेन्द्र कुमार नै थिए तर फिल्ममा नायिका सायरा बानो थिइन् । साथै अर्की कलाकारमा शशिकला थिईन् । फिल्ममा धर्मेन्द्र पनि थिए ।
यहाँ एउटा रोचक प्रसंग के छ भने, धर्मेन्द्रको करियरको यस्तो फिल्म हो यो, जसमा उनी ‘नेगेटिभ’ रोलमा देखिए । यसको निर्देशनको जिम्मा पनि मोहन कुमारलाई दिइयो । यो फिल्म पनि सुपर हिट भयो । त्यस पछि जे ओमप्रकाशले पछाडि फर्केर कहिल्यै हेरेनन् ।
मोहन कुमारसँग जोडिएको नाता
फिल्म उद्योगमा जे ओमप्रकाशको परिचय एक सफल फिल्मकारका रुपमा त हुन्छ नै । यसका साथै उनका बारेमा जति पनि मानिससँग कुरा भए सबैले उनलाई एक असल मानिस भएको बताए । उनी कसैसँग नाता जोड्थे भने त्यसलाई हरहालतमा निर्वाह गर्थे ।
मोहन कुमारलाई पनि जे ओमप्रकाशले पहिलो पटक फिल्म निर्देशक हुने मौका दिए । यिनीहरूमा सियालकोटदेखि नै मित्रता थियो । मुम्बईमा सँगै काम गर्दागर्दै यिनीहरूबीच घनिष्ठता कायम भयो । पछि जे ओमप्रकाशकी पत्नी पद्माले आफ्नी बहिनीको बिहे मोहन कुमारसँग गराईन् । यसरी जे ओमप्रकाश र मोहन कुमार साढू बने ।
पछि गएर मोहन कुमार पनि फिल्म निर्माता बने र उनले ‘अन्जाना’, ‘आप आए बहार आई’, ‘अमीर गरीब’, ‘अवतार’ जस्ता कैयन लोकप्रिय फिल्म दर्शकलाई दिए ।
‘ए’ अक्षरबाट फिल्म
जे ओमपं्रकाशको फिल्मको विशेषता यो पनि थियो कि उनले आफ्नो हरेक फिल्मको नाम ‘ए’ अक्षरबाटै राख्थे । खासमा पहिलो दुबै फिल्म ‘आस का पन्छी’ र ‘आइ मिलन की बेला’को सफलताका कारण उनलाई लाग्यो, ‘ए’ अक्षर उनका लागि शुभ छ । त्यसैले उनले ‘ए’लाई अपनाए ।
यस पछि जे ओमप्रकाशले जति पनि फिल्म बनाए, सबै ‘ए’ अक्षरबाटै बनाए, जस्तै ‘आए दिन बहार के’, ‘आया सावन झूम के’, ‘आन मिलो सजना’, ‘आक्रमण’, ‘अर्पण’, ‘आशा’ ।
मोहन कुमारले पनि आफ्ना मित्र जे ओमप्रकाशलाई पछ्याउँदै आफ्नो फिल्म पनि ‘ए’ अक्षरबाटै बनाए । मोहन कुमारले पनि तिनै कलाकार लिन्थे जुन कलाकार जे ओमप्रकाशले आफ्नो फिल्ममा लिएका हुन्थे । कतिपटक त यसले सबैलाई भ्रममा पाथ्र्यो, यो फिल्म ओमप्रकाशको हो कि मोहन कुमारको !
उता जे ओमप्रकाशको अक्षरको फर्मूला उनका ज्वाईँ राकेश रोशनले पनि अपनाए । राकेश रोशनले आफ्नो सबै फिल्मको नाम ‘के’ अक्षरबाट लिए । जस्तै ‘खुदगर्ज’, ‘खुन भरी माँग’, ‘कोई मिल गया’, ‘कहो न प्यार है’, ‘कृष’ आदि ।
टीममा परिवर्तन
दुई फिल्मको निर्माण पछि उनको तेस्रो फिल्म ‘आए दिन बहार के’ बाट जे ओमप्रकाशले केही परिवर्तन गरे । उनले राजेन्द्र कुमारको ठाउँमा धर्मेन्द्रलाई हिरो लिए र आशा पारिखलाई हिरोइन । यसका साथै फिल्मको निर्देशन गर्ने जिम्मा रघुनाथ झालानीलाई दिए । संगीतकारमा शंकर जयकिशनको ठाउँमा लक्ष्मीकान्त प्यारेलाललाई ल्याए ।
‘आए दिन बहार के’ (१९६६) सुपर हिट भए पछि उनले आफ्नो फिल्म ‘आया सावन झूम के’ (१९६९)मा पनि धर्मेन्द्र र आशा पारिखसहितको टीमलाई दोहोर्याए । यि फिल्महरूले बक्स अफिसमा झण्डा गाडेको थियो ।
एक समयकी प्रसिद्ध अभिनेत्री आशा पारिखले जे ओमप्रकाशका बारेमा भावुक हुँदै उनीसँग काम गर्दाको अनुभव बताईन् । आशा पारिख भन्छिन्, “फिल्म ‘आन मिलो सजना’को सुटिङको समयमा मेरो खुट्टाको औंँला फ्र्याक्चर भएको थियो । खुट्टा दुखे पनि म फिल्मको सुटिङमा गएँ । जब यो कुरा ओमप्रकाशजीलाई थाहा भयो, उहाँले सुटिङ रोकेर खुट्टाको एक्सरे गर्न पठाउनु भयो । र फ्र्याक्चर भएको थाहा पाए पछि केही समय आराम गर्न भन्नु भयो ।”
‘आप की कसम’बाट निर्देशनमा
जे ओमप्रकाशले जब आफ्नो आउँदो फिल्म ‘आप की कसम’को निर्माणको काम सुरु गरे, यसको निर्देशनको जिम्मेवारी पनि आफैले लिए । तर केही व्यक्तिलाई उनको निर्देशनमा शंका उत्पन्न भयो ।
राजेश खन्ना, मुमताज र संजीव कुमार यस फिल्मका मुख्य आकर्षण थिए । यसका साथै यसपटक भने संगीतका लागि उनले आरडी बर्मनलाई चयन गरे । सन् १९७४मा निर्माण भएको ‘आप की कसम’ जब प्रदर्शनमा आयो, त्यसले सफलताका अरू रेकर्डहरूलाई ध्वस्त बनायो ।
फिल्मको मध्यान्तर भन्दा अगाडि खुबै हँसाउने र रोमान्सले भरिएको जबरजस्त मनोरन्जक फिल्म ‘आप की कसम’ले मध्यान्तर पछि दर्शकका आँखा ओभानो हुनै दिएन ।
यस फिल्मको संगीत पनि यति लोकप्रिय भयो कि हरेक मानिसको मुखमा यस फिल्मको गीत झुण्डिएको थियो । ‘जयजय शिव शंकर काँटा लागे ना कँंकर..’, ‘करवटे बदलते रहेँ सारी रात हम…’, ‘जिन्दगी के सफर मे गुजर जाते है जो मुकाम…’ लगायतका गीत चारैतिर गुञ्जायमान भयो ।
सबै फिल्मको संगीत लोकप्रिय
जे ओमप्रकाशको फिल्महरूलाई ध्यानपूर्वक हेर्ने हो भने उनको पहिलो फिल्म ‘आश का पन्छी’देखि लिएर उनको अन्तिम हिट फिल्म ‘आखिर क्योँ’सम्म सबै फिल्मका गीत संगीत लोकप्रिय रहे ।
वास्तवमा ओमप्रकाशलाई कविता र गीत दुबैमा राम्रो जानकारी थियो । त्यसैले उनले दर्शकको नाडी छाम्दै आफ्नो फिल्मको गीत संगीतमा विशेष ध्यान दिन्थे ।
उनको फिल्म ‘आशा’ को ‘शीशा हो या दिल हो आखिर टुट जाता है…’, ‘आन मिलो सजना’को ‘अच्छा तो हम चलते हैँ…’, ‘आए दिन बहार के’को ‘मेरे दुश्मन तूँ मेरी दोस्तीको तरसे…’, वा ‘आखिर क्योँ’को ‘दुश्मन न करे दोस्त ने वो काम किया है…’,लगायत सबै गीत चर्चित भएको कसैबाट लुकेको विषय होइन ।
आज पनि यी गीतले कानमा रस भर्छन र मष्तिष्कलाई झङ्कृत गर्छन् ।
राजेश खन्ना मनपरेका हिरो
जे ओमप्रकाशले धेरै पटक भनेका छन् “राजेश खन्ना मलाई सबैभन्दा मन पर्छन् ।”
राजेश खन्ना अर्थात काकाका साथ ओमप्रकाशले सबैभन्दा पहिलो फिल्म सन् १९७०मा ‘आन मिलो सजना’ गरेका थिए । ‘आप की कसम’ राजेश खन्नाका साथ उनको निर्देशनमा बनेको पहिलो फिल्म थियो । यस पछि उनले ‘आक्रमण’ बनाए जसमा राजेश खन्नाको अतिथि भूमिका थियो । तर जे ओमप्रकाश राजेश खन्नालाई यति मनपराउँथे कि उनले अतिथि भूमिकामा भए पनि ‘आक्रमण’मा उनका लागि दुई वटा गीत फिल्ममा राखे ।
जे ओमप्रकाश आफ्नो फिल्म ‘आशा’ र ‘अर्पण’मा पनि राजेश खन्नालाई लिन चाहन्थे । तर उनको डेट नमिले पछि उनले खन्नाको ठाउँमा जीतेन्द्रलाई लिनुपरेको थियो । जीतेन्द्रका साथ उनको फिल्म ‘अपनापन’ र ‘आशा’ सुपरहिट रह्यो । ‘अर्पण’ पनि हिट बन्यो तर उनको फिल्म ‘अपना बनालो’ र ‘आदमी खिलौना है’ भने त्यति चलेन ।
जे ओमप्रकाशले सन् २००१सम्म फिल्म बनाउँदै थिए । तर यसो हेर्दा सन् १९८५मा प्रदर्शित उनको फिल्म ‘आखिर क्योँ’ को अत्यधिक सफलता पछि उनका अरू फिल्महरू कुनै पनि चलने । यहाँसम्म कि उनको ‘अफसाना दिलावालोँ’ माथि कसैको ध्यानै गएन ।
बितेको एक वर्षदेखि थिए बिरामी
बितेको एक वर्षदेखि निर्माता निर्देशक जे ओमप्रकाश धेरै बिरामी थिए । उनका नातेदार मोहन कुमारका भान्जा र ‘इन्साफका तराजु’, ‘निकाह’लगायत फिल्मका हिरो दीपक पराशरले भनेका थिए, “ओम अंकल पछिल्लो सात आठ महिनादेखि केही बोलिरहनु भएको छैन । उहाँको खानपिन नलीको सहाराबाट हुँदैआएको छ । हुनत उहाँ कोमामा हुनुहुन्न तर आफ्नो आँखा कुनैकुनै बेला मात्रै खोल्नु हुन्छ ।”
फिल्मकार जे ओमप्रकाशका छिमेकी प्रसिद्ध फिल्मकर्मी रामानन्द सागरका पुत्र प्रेम सागर जे ओमप्रकाशको गुणका बारेमा बताएर थाक्दैनन् ।
सागर भन्छन्, “मैले वर्षौदेखि जे ओमप्रकाशजीलाई नजिकबाट नियाल्दै आएको छु । उहाँलाई फिल्म लाईनको हरेक विषयमा पूरा ज्ञान थियो । यतिका सुपर हिट फिल्म दर्शकलाई दिएर पनि उहाँमा कहिल्यै अहम् पैदा भएन ।”
जे ओमप्रकाशजीको धेरैजसो फिल्म पारिवारिक फिल्म हुनुका साथै पति पत्नीको सम्बन्धमा विशेष जोड दिइएको हुन्थ्यो । पति पत्नीको सम्बन्धलाई आफ्नो फिल्ममा देखाउने जे ओमप्रकाशकोे दाम्पत्य जीवन पनि एकदमै सफल रह्यो ।