धनगढी १५ भाद्र/रोजगारीका सिलसिलामा भारतको हरियाणामा रहेका कैलालीका एक नेपाली युवकको चक्कु प्रहारबाट हत्या भएको छ। डोटीको बडिकेदार गाउँपालिका–५ थानकोट घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–४ छतिवनमा बस्दै आएका गोविन्द भुलको भारतको रेवाडी, हरियाणामा चक्कु प्रहार गरी हत्या भएको हो।
घटनामा संलग्न रहेको आरोपमा भीमबहादुर भुललाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। मृतक भुलको शव हाल पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ।
मृतकको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालको प्रक्रिया पूरा गरी शव नेपाल ल्याउन आर्थिक समस्या भएको परिवार तथा आफन्तले बताएका छन्। शवलाई नेपाल ल्याएर परिवारले आफ्नै जन्मभूमिमा अन्तिम संस्कार गर्न सक्ने वातावरण बनाउन आर्थिक सहयोग आवश्यक परेको जनाइएको छ।