मानिसमा तब खुसी स्थायी हुन्छ, जब ऊ भित्रैबाट खुसी हुन्छ । योगले दैनिक जीवनमा खुसी र मुस्कान ल्याउँछ ।
यहाँ केही योगका आसनबारे चर्चा गरिएको छ ।
सूर्य नमस्कार
यो आसन डाइजेसनका लागि राम्रो मानिन्छ । यसले हात, काँध, गर्धन, तथा खुट्टाको मसल्सलाई बलियो बनाउँछ । स्ट्रेस तथा डिप्रेसनका बिरामीका लागि सूर्य नमस्कार राम्रो आसन मानिन्छ । यो आसन दैनिक गर्दा शरीर लचकदार हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

पद्मासन
यो आसनले थकान लाग्न नदिन सहायकसिद्ध हुन्छ । यो आसन गर्दा शरीरका सबै नाडी सुचारु रूपले कार्य गर्छन् । साथै शरीर स्वस्थ पनि हुन्छ । नियमित पद्मासन गर्दा अनुहार आभा बढ्छ र मन पनि शान्त हुन्छ ।

ताडासन
गहिरो तथा लामो सास लिँदा फोक्सोमा अक्सिजनको सञ्चार राम्रो हुन्छ । लम्बाइ बढाउनका लागि यो आसन उपयुक्त मानिन्छ । महिलाको मासिक धर्मको अनियमितता तथा कब्जियतको समस्या हटाउन पनि यो आसन उपयुक्त मानिन्छ ।

चक्रासन
यो आसनले कलेजो, मृगौला, हात, काँध, तथा खुट्टालाई बलियो बनाउँछ । थाइराइड तथा पिट्युटरी ग्रन्थीको अनियमिततालाई सुर्धाछ । यस्तै, डिप्रेसन हटाएर एनर्जेटिक राख्छ ।

धनुरासन
धनुरासन ब्याक तथा पेट दुवैलाई बलियो बनाउँछ । पेटसँग सम्बन्धित कुनै पनि समस्या समाधान गर्न यो आसन उपयुक्त हुन्छ । मोटोपन भएका मानिसले दैनिक यो आसन गर्दा राम्रो हुन्छ । यस्तै, सुगर भएका बिरामीलाई पनि यो आसन फाइदाजनक हुन्छ ।

भुजंगासन
शरीर लचकदार बनाउन तथा डिप्रेसनबाट छुटकारा पाउन यो आसन उपयुक्त मानिन्छ । यस्तै, कब्जियत तथा ग्यासको समस्या भएका बिरामीलाई पनि यो आसन उपयुक्त मानिन्छ । यो आसन गर्दा फोक्सो पनि स्वस्थ हुन्छ ।

यो खबर दैनिक जागरण डट कमबाट साभार गरिएको हो ।