कैलाली, २६ भदौ / शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न श्रेणीका १५१ पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । विश्वविद्यालयले मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्ससहित चिकित्सकीय तथा स्वास्थ्य सेवाका विभिन्न १३ पदमा कर्मचारी माग गरेको हो ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्यकर्मी पदपूर्तिसँगै चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसमेत अघि बढाएको छ । विश्वविद्यालयमा चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा शिक्षण अस्पतालको अवस्थाबारे चिकित्सा शिक्षा आयोगले यसै महिनाभित्र विश्वविद्यालय तथा शिक्षण अस्पतालको अनुगमन गर्ने तयारी गरेको छ । आयोगको अनुगमनपछि विश्वविद्यालयमा सञ्चालन हुने चिकित्सा तथा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमको सिट निर्धारण हुने बताइएको छ ।

