सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । पटक–पटक स्थगित भएको बैठक बिहीबारका लागि बोलाइएको थियो । बिहीबारको बैठक पनि स्थगित भएपछि नयाँ मिति तोकिएको छैन । अब प्रधानमन्त्री एवं पार्टी अधयक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्केपछि मात्रे बैठक बस्ने सम्भावना छ ।
बुधबार बसेको बैठकमा सहमति नजुटेपछि बिहीबार बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । नेताबीच सहमति नभएपछि नौ बजेका लागि बोलाइएको बैठक ११ बजेसम्मका लागि सारिएको थियो । ११ बजे पनि बैठक नबसी अनिश्चित कालका लागि स्थगित गरिएको एक सचिवालय सदस्य जानकारी दिए ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएको एक वर्ष पूरा भइसक्दा पनि सांगठानिक एकीकरणको काम टुंगिएको छैन । कार्यविभाजनमा गुटगत भागबन्डा मिलाउन नसक्दा नेकपा एकता प्रक्रिया लम्बिएको हो ।