धनगढी,१२ असोज । कैलाली जिल्लाको दुर्गम मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा सडक खण्डको निर्माण कार्य रोकिएको छ। “एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको बाटो निर्माण आयोजना“ अन्तर्गत २०७९ साल श्रावण २३ गते शिलान्यास गरिएको यो सडक परियोजना बजेट अभावका कारण रोकिएको हो।
संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वन विकास कोषमा रू ५ करोड १३ लाख ९५ हजार ३७७.२८ पैसा रकम जम्मा गर्न नसक्दा सडक निर्माण थलिएको हो । यसले मोहन्यालका बासिन्दालाई यातायातका कठिनाइ थपेको छ ।
यस समस्याको समाधानका लागि नेपाली काँग्रेसका महासमिति सदस्य विजय स्वार, मोहन्याल गाउँपालिका उपाध्यक्ष तथा नेपाली काँग्रेस सभापति कमल साउद लगायतका युवा नेताहरूले उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्रमार्फत सडक निर्माण कार्यलाई तुरुन्तै अगाडि बढाउन बजेटको सुनिश्चितता गर्न माग गरिएको छ ।
यस सडक खण्डको निर्माणले मोहन्याल गाउँपालिकाको यातायात सञ्जाललाई सुधार गर्ने र दुर्गम क्षेत्रमा समृद्धि ल्याउने आशा गरिएको छ।
