धनगढी २३ कार्तिक/भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको वनगाउँ बजारमा भएको भीषण आगलागी नियन्त्रणमा नेपालबाट पुगेको दमकल टोलीले सहयोग गरेको छ । सीमावर्ती भारतीय बजारमा आगलागी भएपछि धनगढी उपमहानगरपालिकाको दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
लक्ष्मी पूजाका लागि बालिएका झिलिमिली बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको भारतको पलियाका स्थानीय पत्रकार शिशिर शुक्लाले जानकारी दिएका छन् । उनका अनुसार आगलागीबाट वनगाउँ बजारका करिब ६० वटा पसल जलेर नष्ट भएका छन् । वनगाउँ बजार नेपाली उपभोक्तालाई लक्षित गरी सञ्चालन हुँदै आएको सीमावर्ती बजार हो । बजारबाट भारतको पलिया करिब ४० किलोमिटर टाढा पर्दछ । आगलागी भएको खबरपछि भारतीय दमकल टोली घटनास्थल पुग्न समय लाग्ने भएपछि त्यहाँका स्थानीयले धनगढी उपमहानगरपालिकासँग सहयोग मागेका थिए ।
राति ६ः३० बजे आगलागीको खबर प्राप्त भएपछि धनगढी उपमहानगरपालिकाले तत्काल दमकलसहितको टोली परिचालन गरेको थियो । नगर प्रहरी, तीन वटा दमकल र एउटा ब्याकुलोडर सहितको टोली राति ७ बजे घटनास्थल पुगेको थियो । तीन वटा दमकलले तीन-तीन पटक पानी भरेर आगो निभाउने काम गरेका थिए । आगो थप फैलिन नदिन ब्याकुलोडरको प्रयोग गरी फायर लाइन समेत बनाइएको थियो । नेपाली सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिएका छन् ।
आगलागीपछि लखिमपुर खिरी पलियाका भाजपा नेता रवि गुप्ताले मेयर हमाललाई घटनाबारे जानकारी गराएका थिए । गुप्ताको जानकारीपछि धनगढीबाट दमकल टोली परिचालन गरिएको हो । मेयर हमालका अनुसार राति १२ः३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएपछि धनगढीबाट गएको दमकल टोली उपमहानगरपालिका कार्यालय फर्किएको थियो । बजारका अधिकांश व्यापारी पलिया बजारबाट आउने भएकाले आगलागी भएको स्थानमा तत्काल दमकल पुग्न र सामान जोगाउन कठिनाइ भएको पत्रकार शुक्लाले बताएका छन् ।