धनगढी, २५ भदौ / सडक दुर्घटनामा गम्भीर घाइते भएका बझाङका भानु जोशीको उपचारमा लागेको शुल्क निसर्ग हस्पिटलले मिनाहा गरेको छ । हस्पिटलमा चिकित्सकको ४५ दिनको उपचार गराएका भानु जोशीको आर्थिक अवस्था कमजोर भएको र उपचार शुल्क तिर्न नसक्ने भएपछि हस्पिटलले समाजिक उत्तरदायित्व बहन गर्दै उनको उपचारमा लागेको सबै रकम मिनाहा गरेको हो ।
उनी ६ महिनाअघि सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेका कारण उपचारमा धेरै समय लाग्यो तर कतैबाट पनि उनको उपचार खर्च नजुटेपछि निरास भएका विरामी भानुका बुबा धने जोशी अन्तमा अस्पतालले मेरो पारिवारिक र आर्थिक अवस्थाका बारेमा बुझेर गरेको यो सहयोगले छोराले पुनर्जीवन पाएको बताए ।
अस्पतालले ४५ दिनसम्म लागेको २ लाख ७२ हजार १ सय ५० रूपैयाँ निःशुल्क गरेपछि परिवारमा खुशी छाएको छ । ‘यो रकम हामी घरखेत बेचेर पनि तिर्न सक्ने अवस्थामा थिएनौं, अस्पतालले जम्मै रकम मिनाहा गरेर हामीमाथि ठूलो गुन लगाएको जोशी खुसी हुदै बताउछन् ।
उच्च शिक्षा अध्ययनका लागि बझाङबाट धनगढी झरेका २१ वर्षिय भानु ६ महिना अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए । लामो समयको उपचारपछि घर फर्कदै गर्दा भानुले आफूलाई पुर्नजीवन दिन मेरो उपचारमा संलग्न चिकित्सक टोली र यति ठूलो रकम मिनाहा गर्ने निसर्ग हस्पिटललाई धन्यवाद दिन चाहन्छु । यो गुन म कहिल्यै विर्सने छैन भन्दै खुसीका आँशु बगाएका थिए ।’
बिरामी भानुको पारिवारिक अवस्थाका बारेमा बझाङसम्मै बुझ्दा अवस्था नाजुक देखेपछि अस्पताल व्यवस्थापन बोर्डको बैठकले उनको अहिलेसम्मको उपचार शुल्क २ लाख ७२ हजार १ सय ५० रूपैयाँ मिनाहा गर्ने निर्णय गरेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष तीर्थराज पन्तले बताए । उनले भने,‘टाउकोको शल्यक्रिया शुल्कदेखि ४५ दिनसम्मको अस्पतालको बसाइँबापतको २ लाख ७२ हजार १ सय ५० रूपैयाँ हामीले मिनाहा गर्यौँ ।’
यो मात्रै नभएर निसर्ग हस्पिटलले पटक–पटक बेसहारा, आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्दै आएको उनले बताए ।