धनगढी,१९ भदौ । सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूको आर्थिक विकास, सार्वजनिक वित्त व्यवस्थापन, र सुशासन प्रवर्द्धनका लागि विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनगढीमा भएको यो कार्यक्रम कमिटेड नेपाल र द एसियन फाउन्डेसनको सहकार्यका सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सुदूरपश्चिम प्रदेशका स्थानीय तहको स्थानीय आर्थिक विकास, सार्वजनिक वित्त व्यवस्थापन र सुशासन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । सात अाेटा प्रदेश मध्ये सुदूरपश्चिममा सबै भन्दा कम बेरुजु भएकाे उनले बताए ।
यस्तै सुदूरपश्चिम प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति विक्रमसिंह धामीले योजना बाँडफाँटमा प्रदेशमा एकरुपता नहुँदा समस्या भएको बताएका छन् । योजना बाँडफाँट एकरुपता हुन नसक्दा यहाँ समस्या भएको उनले बताएका छन् । यस्तै यहाँ सेटिङमा काम हुँदा पनि अक्तियारले थाहा नपाउने हुँदा त्यसको पनि काम नभएको उनको भनाई छ । आफ्नो शक्ति र पहुँचको भरमा योजना पर्दा समस्या हुने उनको आरोप छ ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भुसालले कार्यक्रममा बोल्दै स्थानीय तहको समृद्धिका लागि राजनीतिक नेतृत्वले सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “स्थानीय तहमा सुशासन कायम गर्न राजनीतिक नेतृत्वले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ। ”
कार्यक्रममा कमिटेड नेपालका परियाेजना व्यवस्थापक अनिरुद्ध न्यौपानेले स्थानीय तहमा बढ्दै गएको बेरुजुको समस्या औँल्याउँदै त्यसलाई समाधान गर्नुपर्ने आवश्यक रहेको बताए । उनले भने, “बेरुजुको समस्याले स्थानीय तहको विकासलाई अवरुद्ध गरिरहेको छ, जसको लागि प्रभावकारी वित्त व्यवस्थापन अत्यावश्यक छ ।”
नेपाल सरकारका पूर्व सचिव गोपी कृष्ण खनालले स्थानीय तहमा आर्थिक विकासका उपायबारे विस्तृत जानकारी दिएका थिए । उनले स्थानीय तहलाई आर्थिक रूपमा सबल बनाउनका लागि स्रोतको अधिकतम प्रयोग, नयाँ योजना, र समुदायको सक्रिय सहभागिताको महत्त्व आवश्यक भएको बताए । “स्थानीय तहमा प्रभावकारी वित्त व्यवस्थापन, कृषिलाई जोड, उद्योगको विकास,आर्थिक विकासमा जोड र सुशासनको प्रवर्द्धन गर्न सके मात्र आर्थिक विकास सम्भव छ, ” खनालले भने।
कार्यक्रममा विभिन्न पालिकाका प्रदेश सभाका सदस्य , प्रमुख, उप प्रमुख , विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार परमानन्द पाण्डेले गरेका थिए।
