लबदेव धामी
धनगढी, १८ साउन / पछिल्ला केहीँ बर्ष यता तिजको मौलिकतामा ह्रास आउदै गएको छ । तिज मनाउने नाममा रत्याउली पारा देखाएर तिज मनारहदा रीतिरिवाज , चालचलन , र हाम्रा प्राचिन मूल्य मान्यता लोप हुँदै गएको भयावह अवस्था सिर्जना भएको छ । तिजका गीतका भाका , शब्द , र ती गीतमा कलाकारको प्रस्तुति हेर्दा समाजको लागि अपच्य सावित हुन गएका छन् ।
समय परिवर्तन भएसँगै केहीँ परिवर्तन आउनु त सामान्य रुपमा लिन सकिन्छ , तर कति परिवर्तन आएको छ भने परिवारमा सँगै बसेर रमाइलो गर्ने ,सुख–दुख आदान प्रदान गर्ने महान पर्व तिज आज समुहमा मनाउने अवस्था नै छैन् । झन तीजका भाइरल गीतका भाकामा दिल खोलेर एक आपसमा नाच्न त चुनौति नै बनेको छ ।
नयाँ पुस्ताको केही नयाँपनको माग पनि हुन सक्छ तर बर्षैँ पिच्छे आएका तिजका गीतले तिजलाई तिजै रहन नदिएको अवस्था छ । कलाकार त प्रतिस्पर्धा गर्न र आफु चिर परिचित हुन केही न केही फरक गर्छन तर ती गीतको र अभिनय गर्ने कलाकारको मूल्याङ्कन गर्ने , पुरस्कृत गर्ने निकाय समेत हाम्रो मौलिकता प्रति अलिकति पनि जिम्मेवार नभएको महसुस गरेको छु । भरखर कलाकारिता क्षेत्रमा आएकाहरुलाई त मौलिकताबारे थाहा नभएको मान्न सकिन्छ तर पुराना चलेका, जानेका , अथार्त कलाकारीता क्षेत्रका हस्तिहरुले समेत चर्चामा मात्रै आउने होडबाजीलाई अँगाल्दा अबको पुस्ताले सिक्ने सिकाइ नै गलत भैरहेको छ ।
जे चलेको छ, जे देखेको छ अब गर्नेले पनि त्यहीँ गर्ने भएकाले नयाँ पुस्ताको तिजको मौलिकता प्रतिको बुझाइ नै फरक बन्दै गएको छ । तिज भनेको नाच्ने एउटा पर्व हो जसरी पनि नाच्नु पर्ने हुन्छ , जस्मा गीत मिलोस न मिलोस , पहिरन , अभिनय जसरी गर्दा नि हुने मात्रै यत्र तत्र आफु चिनिने त हो भन्ने मान्याताले स्थान पाइरहदा मौलिकतालाई ठाँउ दिदै आएका कलाकारहरु छायामा पर्न थालेका छन् ।
गत बर्ष चर्चामा आएको तिजको गीत “अर्ली काँडैले मलाई च्वास्सै च्वास्सै” ले जब सर्वाधिक चर्चाको र रुचाएको भनि पुरस्कार पायो फल स्वरुप यो बर्ष तिज नजिकिदै गर्दा बजारमा आएका तिज गीतलाई हेरेर समिक्षा गर्नु पर्ने अवस्था आएको छ । चर्चामा आउने बिषय र मौलिकता समेटिएको बिषय पनि त फरक फरक हुन । तिजको र्मम एकातिर , गीतको भाका एकातिर , शब्द एकातिर अनि कलाकारको अभिनय एकातिर भैरहेको प्रति अझै पुरानो पुस्ताले मात्रै चिन्ता व्यक्त गरी रहदा त्यो चिन्ता चाँसो गर्ने पुस्ताको अन्त्यसँगै हाम्रो तिज पर्वको मौलिकता हराउने निश्चित छ ।
कलाकारको पाटो एकातिर छ अहिलेलाई छोडौँ तर कलाकारको कलाकारितालाई मूल्याङ्कन गरी रहेका निकायमा चेतना पलाउनु पर्ने पहिलो आवश्यतकता बन्न गएको छ । हामी हाम्रा एक–एक मूल्य मान्यता, संस्कृति, चालचलन , पहिरन, लवाइ , खवाइ , धर्म , संस्कार र मौलिक पर्वले त चिनिएका हौँ । बिषय तिजका गीतको मात्रै हैन हाम्रो पहिचानको पनि हो । हामीलाई हर्ने दृष्टिकोणको पनि त हो, अनि हाम्रा प्राचीन सम्मपत्तिको पनि हो ।
म कुनै आलोचक बनेर मौलिकताको जानकार भने पक्कै हैन तर जानकारी राख्न चाहाने सिकारु भने जरुर हुँ । मैले कलाकारको आलोचना गरेको हैन मात्रै अबका पुस्ताको सिकाइ, बुझाइमा र यथार्थतामा ठुलो फरक भएको बारे आफ्नो धारणा व्यक्त गरे । तिजको मौलिकता हराए के न हुन्छ भन्नेहरुले भने विचार गर्नु होला , यहीँ प्रवृत्तिलाई मान्यता र स्थान दिइ रहदा कुनै दिन आफु हराएको पनि थाहा नहुन सक्छ । तिजको मात्रै हैन हरेक क्षेत्रको मौलिकता र यथार्थता जोगाउन चर्चा, प्रतिस्पर्धा र ठुलो जमातलाई नहेरी वास्तविकतालाई मनन् र मुल्याङ्कन् गर्नु जरुरी देखिन्छ ।
