उहिलेको कुरा अनि सुदूरपश्चिमको समाज, छोरो भनेपछि मरिहत्ते गर्ने । गर्भमै छोरी भएको जानकारी पाए भ्रुण हत्या गर्ने समाज । छोरा पाउँदा निकै खुसीयालीका साथ भोज भतेर गर्ने समाज ।
कुरा तीन दशकअघिको हो । एक भट्ट परिवारमा छोरा जन्मिँदा घर परिवार नै शोकमग्न भयो । कारण त्यस परिवारमा जन्मजात दुवै हातखुट्टा नभएको एक सन्तानको जन्म भयो । छोरा जन्मिएको खुसियालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोज भतेर गर्ने चलन भए पनि उनी जन्मिँदा घरमा कुनै खुसियाली आएन बरु आमाबुवा चिन्तित भए ।
उनलाई हेर्न गाउँलेहरूको घुइँचो लाग्न थाल्यो । छरछिमेकले उनलाई जिउँदै गाड्न सुझाए । त्यति बेला शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो । त्यसैले त उनका आमाबुबालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह दिए ।
तर, आमाबुबाको माया न हो, कहाँ मार्न सकिन्थ्यो र आफ्नो सन्तानलाई १ विस्तारै न्वारनको दिन आयो । उनको नाम नन्दराज भट्ट राखियो ।
जन्मिँदा धेरैको हेयको पात्र बनेका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरूका लागि मात्र होइन, सिङ्गो समाजका लागि पनि प्रेरणाको स्रोत बनेका छन् । मनमा प्रश्न उठ्ला कसरी ?
कथा यस्तो छ
२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका– ३ मा दुवै हात–खुट्टाविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्गता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गरेका छन् । हात–खुट्टा नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल उनी अपाङ्गता भएका व्यक्तिको हक अधिकारको क्षेत्रमा क्रियाशील छन् ।
उनको सक्रिय जीवनशैली हेर्दा लाग्छ, उनमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उनी समाजका लागि प्रेरणाका स्रोत बनेका छन् ।
आफू जन्मिएको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरूको घुइँचो नै लाग्यो रे १ उनी भन्छन्, ‘हेर्न आएकामध्ये कतिले आमाबुबालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेऊ भन्ने सुझावसमेत दिएछन् । तर, आमाबुबाको मन हो, आफैँले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून् १’
परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उनी बताउँछन् । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रूपमा लिएर अघि बढ्नुपर्ने उनको धारणा छ ।
दुवै हात–खुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् ।
यो सफलता प्राप्तिका लागि उनले जीवनदेखि हार नमानी कठिन सङ्घर्ष गरेका छन् । उनले अनेक चुनौतीका पहाडहरू छिचोलेका छन् । उनी भन्छन्, ‘दुवै हात–खुट्टा नहुँदा शारीरिक कठिनाइ त छँदै थियो, कतिपय आफन्त, साथीभाइले हेयको रूपमा पनि हेरे उनलाई ।
‘तर, मैले जीवनदेखि हार मानिनँ बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यहरूलाई निरन्तरता दिएँ’, उनी भन्छन्, ‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरूमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो । हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’
समाजले जे भने पनि परिवारले पनि साथ दिएको उनले बताए ।
परिवारको आर्थिक अवस्था कमजोर थियो तर पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गर्यो । उनले थपे, ‘त्यसपछि बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना भएँ र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गरेँ ।’
हिलोमा फुलेको कमल
‘सानो छँदा पहाडमा उकाली–ओराली गर्न सहज थिएन । आमाबुबाले नै काँधमा बोकेर विद्यालय पुर्याउने, ल्याउने काम गर्नुभयो’, उनले भने ।
वीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न कैलाली पुगेको उनी बताउछँन् । समथर भौगोलिक बनावट र यातायातका साधनको सुगमताले तुलनात्मक रूपमा सहज त भयो तर शारीरिक अवस्थाले अध्ययनमा कठिनाइ नै रह्यो ।
धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उनले कठिनाइ झेले । अपाङ्गमैत्री भवन नभएको कारण देखाउँदै कतिपय कलेजहरूले भर्ना लिन नमानेको विगत उनको स्मरणमा ताजै छ ।
उनी भन्छन्, ‘मेरो बौद्धिक क्षमता नबुझी शारीरिक अपाङ्गता देखेर धेरै कलेजले भर्ना लिन मानेनन् तर समाजसेवी घनबहादुर शाहको मद्दतले कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुन पाएँ ।’
भर्ना पाइकेपछि पनि अध्ययन अगाडि बढाउन त्यति सहज भने भएन । आफ्नो विगत सम्झँदै गहभरी आँसु पार्दै उनले भने, ‘सबै साङ्ग विद्यार्थीको बीचमा म एक्लो अपाङ्ग थिएँ । साथीहरूले जिस्क्याउँथे । त्यति बेला मन अमिलो हुन्थ्यो तर मैले हरेस खाइनँ ।’
उनले अध्ययन मात्र गरेनन्, सुरुवाती समयमा मुखले लेख्ने प्रयास गरे । ‘मुखले लेख्दा घाँटी दुख्न थालेपछि दुवै हातका कुहिना जोडेर लेख्न थालेँ’, उनले भने, ‘कक्षा ५ सम्म पुग्दा मुख र खुट्टाले नै लेख्थेँ ।’
खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि उनले कुहिनाले लेख्ने प्रयास गरे । मुस्कुराउँदै उनले भने, ‘अहिले मुख, कुहिना र खुट्टा तीनै अङ्गको सहारामा कलम चलाउन सक्छु । हिँड्ने, लेख्ने, पढ्ने मात्र होइन, मोबाइल चलाउने, आफ्नो दाह्री खौरिनेसम्मका काम आफैँ गर्छु ।’
मार्न सुझाव दिने छिमेकी अहिले प्रशंसा गर्छन्
‘हात–खुट्टा भएर पनि केही गर्न नसक्नेहरू पो अपाङ्ग हुन् त १ यो समाजले अपाङ्गताको सही अर्थ नबुझेका कारण हामीलाई गाह्रो भएको हो’, उनी भन्छन् ।
जीवनमा सफल हुन साङ्ग भएर मात्रै हुँदैन । सफलताका लागि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा दृढ इच्छा र सङ्कल्प रहेछ भन्ने कुरा प्रमाणित भएको उनी बताउँछन् ।
‘म जन्मिँदा अपाङ्ग छोरा पालेर के गर्छौ, कतै लगेर फालिदेऊ भन्नेहरू हिजोआज मेरो प्रशंसा गर्न थालेका छन् । मेरा लागि सबैभन्दा ठूलो खुसी पनि यही हो’, नन्दराज उत्साहित बन्छन् ।
आफू गाउँ गएमा वरिपरिका आफूलाई भेट्न आउने र उनका आमाबुबालाई भन्छन् रे, ‘छोरा होस् त तिम्रो जस्तो’, अनुहारमा खुसी छर्दै नन्दराजले भने । यति मात्र होइन, उनले कम्युटरमा पनि डिप्लोमा कोर्स पूरा गरेका छन् ।
ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर पनि सजिलैसँग चलाउँछन् उनी । ‘कपडा धुनेलगायतका अन्य कामहरू भने श्रीमतीले सघाउँछिन्’, उनले भने । २०७१ सालमा प्रेम विवाह गरेका उनकी अहिले एक छोरी छन् ।
हाल नन्दराज अपाङ्गता भएका व्यक्तिलाई सामाजिक समायोजन गराउने काममा सक्रिय छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडीपी०द्वारा ‘राष्ट्रिय स्वयंसेवक अवार्ड, २०१६’ बाट उनी सम्मानित पनि भए ।
नेपाली साहित्यका विद्यार्थी भएर पनि होला उनी साहित्य क्षेत्रमा पनि रुचि राख्छन् । कहिलेकाहीँ समसामयिक विषयमा पनि कलम चलाउने भट्ट अपाङ्गताको सवाललाई समेटेर लेखरचनाहरू पनि लेख्छन् । उनले ‘बेलाको बोली’ विचारसङ्ग्रह प्रकाशन गरेका छन् ।