धनगढी ९ भाद्र/पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले बिहान १ बजे थाहा पाएको थियो ।
हाल सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेको देउवा निवास बाहिर शनिवार राति १ बजेको समयमा प्रहरीले शंकास्पद बस्तु राखेको देखेको हो।
नेपाल प्रहरी त्यस लगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो। बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए।
उनका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो। त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
