कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय पालिकाले स्वास्थ्य संस्थाहरुको उचित व्यवस्थापन गर्न नसकेपछि नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता रहेका बेला धनगढीमा पनि उस्तै अवस्था रहेको छ। उपमहानगरपालिकाले मातहतका स्वास्थ्य संस्थाको उचित व्यवस्थापन गर्न नसक्दा नागरिक आधारभुत स्तरको सेवा पाउँनबाट वञ्चित भएका छन्।
स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने औषधी खरिद लगायतका काम व्यवस्थापन गर्न नसक्दा नगरबासीले आधारभुत स्तरको स्वास्थ्य सेवा समेत नपाएका हुन्। शरही स्वास्थ्य केन्द्रका प्रमुख कृष्णदत्त पन्तले सरकारले अनिवार्य गरेका सबै औषधी वितरण गर्न नसकिएको उल्लेख गरे।
उनले अहिले जिल्ला स्वास्थ्य कार्यालय र प्रादेशिक स्वास्थ्य व्यवस्थापन केन्द्रबाट औषधीको आपूर्ती गरिरहेपनि उपमहानगरपालिकाको बजेटले खरिद नभएको बताए। उपमहानगरपालिकाले भने आर्थिक वर्षको छ महिना बित्दा समेत स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने औषधी खरिद नसकेको हो।
खरिद प्रक्रिया थाल्न नै ढिलाई गरपछि समस्या भएको हो। स्वास्थ्य सेवाको व्यवस्थापनका लागि मात्रै झण्डै साढे पाँच करोड छुट्याएको उपमहानगरपालिकाले गत कात्र्तिकमा मात्रै टेण्डर आह्वान गरी मंसिरमा मात्रै ठेक्का सम्झौता गरेको स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले बताए।
