धनगढी,६ असार । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच बिहीबार भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशसभा, सामाजिक विकास समितिको अन्तरप्रदेश भ्रमणका क्रममा गण्डकीको पोखरा पुगेका समितिका सभापति शिवराज भट्ट, सदस्यहरु प्रकाश बम, जानकी पौडेल कुँवर, तुलसी देवकोटा र धर्मराज पाठकले प्रदेश प्रमुख भट्टलाई भेट गरी बधाई तथा शुभकामना व्यक्त गरे ।
समितिका सभापति शिवराज भट्टले मुलुकका प्रदेशसभाहरुले गरेको कार्यसम्पादन, अभ्यास बुझ्नुका साथै अनुभव आदानप्रदान एवं काममा एकरुपता कायम गर्ने सवालमा भ्रमण फलदायी हुने विश्वास लिएको बताएका छन् ।