बैतडी ४ असार/बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ । भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए ।
तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो । मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए । विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।