किशोर तामाङ,
धनगढी ,२२ जेठ । कंचनपुरको पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. बजारको अटो चोक नजिकै सडकमा रहेका दुई सोलार बत्ती बेवारिसे अवस्थामा देखिएका छन् ।करिब तीन हप्ता बढी समय हुँदा सम्म पनि बजार नजिकै पैसट्ठी बिघा क्षेत्रमा बेवारिसे अवस्थामा सोलार बत्ती फालिएका छन् ।
सोलार बत्ती बेवारिसे अवस्थामा फालिएको विषयमा पुनर्वास नगरपालिका–३ का प्राविधिक लालमन तामाङसंग बुझ्दा टेक्निसियनलाई जडानका लागि बारम्बार बोलाउदा पनि नआएका कारण अलपत्र जस्तो भएको जानकारी दिए ।

“अब एक दुई दिनमै जडान हुन्छ । अन्य टेक्निसियनले जडान गर्न नसक्ने र सोलार सम्बन्धि टेक्स्निसियनले मात्रै जडान गर्न सक्ने भएका कारण समस्या हुन पुगेको हो ।“ उनले भने, “बेवारिसे फालेका हैनौ । तत्कालै नजिकै जडान गर्नुपर्ने भएकाले पैसट्ठी बिघामा राखेका हौं ।“
तर कालिका बजार समितिका सदस्य राजेन्द्र पौडेलले सडक निर्माण अवधीमा निकालिएपछी सोलार बत्ती अलि सुरक्षित साथ व्यवस्थित तरिकाले राखिनुपर्ने बताए । हेर्दा बेवारिसे अवस्थामा जस्तो सोलार बत्ती सहितको पोल फ्याकिएको छ । सरकारी काम भएका कारण पनि मतलब नभएको हुन सक्ने उनको भनाई छ ।

पुनर्वास नगरपालिकाको यो सोलार बत्ति त एक उदाहरण मात्रै हो । हरेक योजनामा यस्ता अनेकौं समस्या छन् तर समाधान तर्फ भने जनप्रतिनिधि र कर्मचारी मुकदर्शक देखिन्छन् ।