धनगढी,२६ वैशाख / कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतको विभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका ५ प्रतिवादी हिजो पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको फैसलाले १५ दिन कैद सजाय, ४४ लाख जरिबाना र १ लाख ७६ हजार क्षतिपूर्ति ठहर भएका टीकापुर नगरपालिका–५ बस्ने ३४ वर्षका अनुज हमाल र लागुऔषध चरेश गाँजा मुद्दामा १ वर्ष १ महिना २५ दिन कैद सजाय र १० हजार जरिबाना ठहर भएका गोदावरी नगरपालिका–१ बस्ने ५५ वर्षका गोमबहादुर बुढा मतवाला रहेका छन् ।
त्यसैगरी वन मुद्दामा जनही १४ हजार ८०० जरिबाना ठहर भएका धनगढी उपमहानगरपालिका–७ बस्न ५५ वर्षका सोनोराम चौधरी र ५० वर्षका लालसिंह राना र चोरी मुद्दामा १३ दिन कैद सजाय १२ हजार रुपैयाँ जरिबाना ठहर भएका धनगढी–१४ बस्ने २५ वर्षका शंकरबहादुर परियार रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।