बैतडी, ४ वैशाख / बैतडीमा आफ्नै १७ वर्षीया भतिजिमाथि बलात्कार गरी हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिकाका ३० वर्षीय एक युवकलाई प्रहरीले आफ्नै भतिजिमाथि बलात्कार गरेर हत्या गरेको भन्दै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पुर्चौडी-४ रातामाटाकी ती किशोरी गत चैत २६ गते हराएकामा २८ गते जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । मृतकका बुबाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि सोमबार ती युवकलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका युवक ९मृतकका काका०ले आफूले नै हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टमा किशोरीको पेटमा १८ हप्ताको गर्भ फेला परेको र पुर्चौडी स्वास्थ्य चौकीमा गर्भपतन गराउने प्रयास असफल भएपछि काकाले ढुंगलाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
मृतक किशोरीको गत वर्ष मात्रै विवाह भई उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ । पक्राउ परेका युवकमाथि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।