बैतडी , २६ चैत / बैतडीमा लागू औषध खैरो हेरोइनसहित थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा दशरथचन्द नगरपालिका ४ का २४ बर्षीय सन्तोष टमाटालाई आइतबार साँझ ६ बजेतिर पक्राउ गरेको हो ।
टमाटालाई दशरथचन्द नगरपालिका वडा नं ६ थालिगडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । पक्राउ परेका टमाटाको साथबाट ६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको उनले बताए ।
मोबाइलको पछाडीपट्टीको खोलमा कागजको ५ ओटा पुडिया बनाइ लुकाइराखेको अवस्थामा खैरो हेरोइनसहित टमाटालाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए । पक्राउ परेका टमाटामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिममा प्रहरीले लागू औषध विरुद्धको महाअभियान सञ्चालन गरिरहेको छ । लागू औषध दुव्र्यसनका कारण समाजमा विभिन्न खालका अपराधहरु हुने भएकाले प्रहरीले लागू औषधको विरुद्धको महाअभियान सञ्चालन गरेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।