धनगढी, १४ चैत/कैलालीको गौरिगंगा वडा नम्बर ३ स्थित शिवगंगा नदिमा भइरहेको अवैध नदिजन्य सामाग्री उत्खन्नमा प्रयोग भइरहेका सवारी साधन प्रशासनले नियन्त्रणमा लिएको छ ।
सुदूरपत्र अनलाइनले चैत १३ गते राजिवभुगडामा जथाभावी उत्खनन् समाचार प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र नेतृत्वको टोलिले अनुगमनका क्रममा सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले छ ट्याक्टर, एक टिप्पर, जेसिवि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चौमाला बुझाइएको जानकारी दिए ।
शिवगंगा खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का सम्झौता गरेको विश्वास कन्स्ट्रक्सनले वातावरणीय प्रभाव मूल्यांकनभन्दा बढी र तोकिएको क्षेत्रभन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानी गरिरहेको नगरपालिकाकै अनुगमन प्रतिवेदनमा उल्लेख छ।
वातावरणीय प्रभाव मूल्यांकन अनुसार सो कम्पनीले कुचौनी घाटमा १५ हजार एक सय २५ घनमिटर र शिवगंगा पुलबाट उत्तरतिर सात हजार आठ सय ७५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने उल्लेख छ। उनका अनुसार सो क्षेत्रमा रहेको सामुदायिक वनभित्रनै नदिजन्य सामाग्री उत्खनन् भइरहेको पाइएको छ ।