धनगढी २८ फागुन/दार्चुलामा जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका युवकलाई नियन्त्रणमा लिने क्रममा खसेर प्रहरी जवानको मृत्यु भएको छ ।सोमबार जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षबाट हतकडीसहित भागेका महाकाली नगरपालिका–२३ वर्षीय उमेश कुँवरलाई नियन्त्रणमा लिन पछ्याउँदा खसेका प्रहरी जवानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले कैलालीको कैलारी गाउँपालिका स्थायी घर भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार चौधरी जिप्रका परिसरको पछाडिबाट करीब ३० मिटर तल खसेका थिए ।उनको उपचारका क्रममा खलंगास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । जबरजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कुँवरलाई प्रहरीले २१ फागुनमा पक्राउ गरेको थियो । थुनुवा कक्षबाट भागेका कुँवर महाकाली नदीमा पौडी खेलेर भारततिर पुगेका थिए । कुँवरलाई नदी किनारमा रहेका भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।