काठमाडौं । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा बुधबार नेता बलायरले अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपछि जनता आगामी चुनाव पर्खेर बसेका बताए ।
“कम्युनिस्ट सरकारले जनतालाई हरेक क्षेत्रमा दुःख दिएको छ । चुनाव अघि अनेक आश्वासन बाँड्यो अहिले केही गर्न सकिरहेको छैन्,” उनले भने, “जनताले यो सरकारसँग धेरै अपेक्षा गरेका थिए । सरकारले अपेक्षाअनुसार काम गर्न नसकेपछि जनता आगामी चुनाव पर्खेर बसिरहेका छन् ।”
आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने क्रममा स्थानीय सरकारहरू भ्रष्टाचारमा चुर्लम्म डुबेको पाइएको उनको भनाइ थियो । “वर्तमान सरकारले भ्रष्टाचारका सबै सीमा नाघिसकेको छ । नेकपाका कार्यकर्ताले भ्रष्टाचारका बछिटा गाउँबस्तीमा समेत पुर्याइसकेछन्,” बलायरले भने ।
स्थानीय सरकारले गाउँबस्तीमा बनाएका योजनामा ठूलो चलखेल भइरहेको उनले दाबी गरे । ‘यहाँ त सिधै प्रतिशत अशुलेर योजना बाँड्ने प्रचलन बसाइएको रहेछ,” उनले भने । बलायरले सरकार केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै जनताका समस्या ज्यूँका त्यूँ रहेको दाबी गरे । उनी विगत एक महिनादेखि डोटीका ग्रामीण क्षेत्रमा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्दै आएका छन् ।