धनगढी, ३ पुस/कैलालीको अत्तरिया बसपार्कमा एक युवक माथि कुटपिट भएको छ । बसपार्कमा रहेको खप्तड यातायात प्रालिमा कार्यरत गोदावरी नगरपालिका – ४ बसन्तपुरका जित बहादुर साउद माथि कुटपिट भएको हो ।
कुटपिटबाट साउदको आँखामा घाउ भएको छ भने शरीरका अन्य भागमा पनि चोटपटक लागेको छ । कुटपिटबाट घाइते भएका साउदले सोमबार बिहान मादक पदार्थ सेवन गरेर बसपार्कमा रहेको शिवपुर यातायात प्रालिमा कार्यरत गोदावरी नगरपालिका – १ का खेम साउद र गौरीगंगा नगरपालिका – ६ का विवेक खवासले कुटपिट गरेको बताएका छन । उनले दुवै जनाको नाममा इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको भएपनि उनीहरूलाई पक्राउ नगरिएको बताए । उनले कुटपिट गर्ने दुवै जनाले विगतमा पनि आफूमाथि गालीगलौज र अभद्र व्यवहार गर्दै आएको बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले भने कुटपिटको घटनामा संलग्नको खोजी भइरहेको बताए । उनले आज दिनभरी कुटपिट गर्नेको खोजीका लागि ५ जना प्रहरी परिचालन गरिएको भएपनि पक्राउ नपरेको बताए ।
उनले आफूकहाँ जाहेरी नआएपनि फोनबाट पाएको जानकारीका आधारमा कुटपिट गर्नेहरूको खोजीका लागि प्रहरी परिचालन गरेको बताए ।